गण्डकी प्रदेशले मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि उचालेको हो।
गण्डकीले उपाधिसँगै २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र जितेको हो। उपविजेता कर्णाली प्रदेशले १ लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा जित्यो।
फाइनल खेलका लागि टस जितेर ब्याटिङ रोजेको कर्णाली प्रदेशले गण्डकी सामु निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
६५ रनको विजयी लक्ष्य पछ्याउदै मैदान उत्रिएको गण्डकीले १७.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि ज्योत्सनिका मरासिनीले ११ र सृजना पौडेल तथा आङ्पेम्बलुम्बा सेर्पाले समान ९/९ रन बनाए। बलिङतर्फ कर्णालीकी श्रीमी सिं थारुले ४ विकेट लिइन्। विना थापाले २ र एन्जीला थापाले १ विकेट लिए।
त्यसअघि, कर्णालीको पारी किरणकुमारी कुँवरले एक्लै सम्हालिन्। ६७ बलको सामना गरेकी उनले टिमलाई २९ रनको योगदान दिइन्। बलिङतर्फ गण्डकीका लागि आकृति तिवारीले २ र मनीषा उपाध्याय तथा ज्योत्सनीका मरासिनीले समान १÷१ विकेट लिए। गण्डकीकी ज्योत्सनीका मरासिनी खेलको ‘प्लेयर अफ दी म्याच’ बनिन्।
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी पनि गण्डकीकी उनै ज्योत्सनीका नै बनिन्। ज्योत्सनिकाले २५ हजार दगदसहित ट्रफी पुरस्कार पाइन्। सर्वोत्कृष्ट बलर कर्णालीकी एन्जीला थापा र उत्कृष्ट ब्याटर बागमतीकी हेलिशा गुरुङ बने। उनीहरूले समान १०÷१० हजार पुरस्कार पाए।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तारा लामा तामाङ, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंह, क्यानका सदस्य वीरेन्द्र चन्दलगायतले प्रतियोगिताको विजेता, उपविजेता, विधागत पुरस्कार उत्कृष्ट खेलाडीलाई शुक्रबार एक समारोहकाबीच पुरस्कार वितरण गरे।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भएको प्रतियोगितामा ७ प्रदेशका यु–१९ महिला क्रिकेट टिमको सहभागिता थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







