गुर्जा खोलामा ट्रस पुल


     एभरेस्ट आवाज    
     चैत्र १५ गते २०७८ मा प्रकाशित




म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ ढुलढुनास्थित गुर्जा खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ । गुर्जा हिमालको आधार शिविर र चरन खर्कमा जाने पदमार्गमा पर्ने ढुलढुनास्थित गुर्जा खोलामा पुल निर्माण भएको हो ।

उपभोक्ता समितिका अध्यक्ष पदम छन्त्यालले पुल बनेपछि दुई घण्टा ३० मिनेटको यात्राअवधि ४५ मिनेटमा छोटिएको बताए । यसअघि सो ठाउँमा काठको अस्थायी पुलबाट जोखिम मोलेर आवतजावत गर्ने गरिएको थियो । बस्तीदेखि टाढा रहेको सो ठाउँमा पुल बनाउन गुर्जावासीहरु जङ्गलमै बास बसेका थिए ।

पुल जडान गर्ने मजदुरसहित १५ जना स्थानीयवासी र उपभोक्ता समितिका पदाधिकारी ११ दिन निर्माणस्थलमै बास बसेका थिए । रु ३० लाखका लागतमा निर्माण भएको २८ मिटर लामो पुलको उचाइ ३२ मिटर छ । खोलाको सतहदेखि काठको टेका राखेर पुलमा स्टिल डेग जडान गरिएको थियो । २०७७ चैत महिनामा सम्झौता भएको पुल निर्माण कार्य कोरोना महामारी र बर्खाका कारण रोकिएको थियो ।

टिभिएसयुद्वारा सञ्चालित स्वाप परियोजना, गाउँपालिका र समुदायको साझेदारीमा पुल निर्माण भएको हो । स्टिल डेग, बुल्डअप ग्रिप र ट्रस खरिद गरेको थियो । निर्माण सामग्री ढुवानी, जडान र निर्माणको काम उपभोक्ता समितिले गरेका हुन् । लुलाङ हँुदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा पनि रु ३० लाख ९३ हजारको लागतमा २८ मिटर लामो स्टिल ट्रस पुल निर्माण भएको छ ।

वडाध्यक्ष झकबहादुर छन्त्यालले गुर्जामा पाँच वर्षको अवधिमा दुईवटा ट्रस र तीनवटा झोलुङ्गे पुल निर्माण भएको जानकारी दिए । दोप्ताखोलामा ६७ मिटर, कातिखोलामा ५० मिटर, घुर्मखोलामा ३२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । धवलागिरि गाउँपालिकामा गत वर्ष सुरु भएका चारवटा स्टिल ट्रस र तीनवटा झोलुङ्गे पुलमध्ये पाँचवटा सम्पन्न भएका प्राविधिक दिलीप थापाले बताए।

वडा नं ४ नाउराको कोपिलाघाटमा रु ४० लाख ९४ हजार ४०५ को लातमा ६७ मिटर लामो झोलुङ्गे र वडा नं २ को आवासखोलामा रु ३२ लाख ४१ हजार ८४९ को लागतमा ३२ मिटर लामो ट्रस पुल निर्माण भइसकेको छ ।

मुनाको पुल्टिसखोला र मल्कवाङको खोलाखर्कको झोलुङ्गे पुल अन्तिम चरणमा छन् । पुल निर्माणका क्रममा सामाजिक तथा प्राविधिक सहजीकरण गैरसरकारी संस्था मिलन म्याग्दीले गरेको थियो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।