पोखरा । नेपाल प्रेस यूनियन कास्कीको कार्यबहाक सभापतिको जिम्मेवारी रविना आलेले पाएकी छन् ।
यूनियनका सभापति नविन सिग्देल नेपाली कांग्रेस कास्कीको सहसचिवमा र उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा नेपाली कांग्रेस गण्डकी प्रदेश निर्वाचन क्षेत्रिय समितिको सचिवमा निर्वाचित भएपछि पार्टीको विधान अनुसार प्रेस यूनियन केन्द्रिीय समितिले कार्यवाहक सभापतिको जिम्मेवारी आलेलाई दिने निर्णय गरेको हो ।
कार्यवाहक सभापतिको जिम्मेवारी पाएकी आले उपाध्यक्ष (महिला) हुन् । आले प्रेस युनियन कास्कीको इतिहासमै महिला सभापति भएर जिम्मेवारी सम्हाल्ने पहिलो महिला पत्रकार हुन् ।
कांग्रेसको विधान अनुसार पार्टीको कुनैपनि तहको कार्यसमितिमा निर्वाचित तथा मनोनयन भएका सम्बन्धीत व्यक्तिको शुभेच्छुक र भातृ संस्थाको पद स्वतहः खारेज हुने प्रावधान छ । सोही प्रावधानका कारण सिग्देल र सापकोटाको पद स्वतहः रिक्त भएको हो ।
यसैविच नेपाल प्रेस यूनियनका निवर्तमान सभापति नविन सिग्देलले समाजिक सञ्जालमा स्टाटस लेख्दै कार्यवाहक सभापति आलेलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन् । २०७५ फागुन ११ गते नेपाल प्रेस यूनियनको नेतृत्व सम्हालेका सिग्देलले ३ वर्ष एक महिना ४ दिनसम्म नेतृत्वमा रहँदा र पार्टीको १३ औं र १४ औं महाधिवेशनका क्रममा पाएको अपार माया र सद्भावप्रति आभार प्रकट गरेका छन् ।
उनले लेखेका छन्, ‘मैले आफूलाई भन्दा पनि सबैभन्दा बढी माया गर्ने संस्था हुन् नेपाली काँग्रेस र नेपाल प्रेस युनियन । नेपाली काँग्रेसको १३ औ महाधिवेशनपछि नेपाली काँग्रेस कास्कीको सदस्य हुँदै प्रवत्ता बने । १४ महाधिवेशनमा अपार माया र सद्भाव पाएर नेपाली काँग्रेस कास्कीको सहसचिव भए । २०७५ फागुन ११ मा नेपाल प्रेस युनियन कास्कीको सभापति बने ।’
‘आजसम्म नेपाल प्रेस युनियन कास्कीको अध्यक्ष भएको तीन वर्ष एक महिना चार दिन पुगेछ । यसैक्रममा नेपाली काँग्रेसको विधान र नेपाल प्रेस युनियनको परिपत्रको सम्मान गर्नुपर्ने कर्तव्य पूरा गर्नु छ । तसर्थ आजदेखि नै नेपाल प्रेस युनियन कास्कीको अध्यक्ष पदबाट बिदा लिएको छु । अब नेपाल प्रेस युनियन कास्कीको कार्यवाहक अध्यक्ष उपाध्यक्ष रविना आले बन्नुभएको छ । उहाँलाई हार्दिक बधाई एव सफल कार्यकालको शुभकामना । ’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







