कास्की । चुनावको मुखमा पोखराका सबै तालहरुको मापदण्ड घटाइएको छ । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन नजिकिरहँदा पोखरा महानगरपालिकाले हतारहतार महानगर भित्रका सबै तालहरुको मापदण्ड घटाएर नया मापदण्ड तोकेको हो ।
सर्वोच्च अदालतले २०७५ साल बैशाख १६ गते फेवातालको सिमाङ्कन, नक्साङ्न र सौन्दर्यकरण गर्न संघ, प्रदेश र स्थानिय तहलाई निर्देशनात्मक आदेश गरेको थियो । विश्वप्रकाश लामिछाने नेतृत्वको तत्कालीन समितिको प्रतिवेदनलाई आधार मानेर सर्वोच्च अदालतले ६ महिना भित्र फेवातालको सिमाङ्कन गरी चार किल्ला निर्धारण गरी नक्साङ्कन गर्न र त्यसको संरक्षण गर्न आदेश दिएको थियो ।
सर्वोच्चले आदेश दिएको तीन वर्ष बित्दासमेत महानगरले फेवातालसहित कुनैपनि तालहरुको सिमाङ्कन र नक्साङ्कन गर्न सकेन । तर अहिले चुनाव नजिकिएपछि मतदातालाई प्रभावित गर्ने उद्देश्यले महानगरले तालहरुको मापदण्ड घटाएर नया मापदण्ड कायम गरेको प्रष्ट देखिन्छ । तालहरुको मापदण्ड सिफारिस समितिले गरेको सिफारिसलाई महानगरको बुधबार बसेको ५५ औं कार्यपालिका बैठकले पारित गरेको हो ।
महानगरले सर्वोच्च अदालतको आदेशात्मक फैसला, फेवाताल सिमाङ्कन तथा नक्साङ्कन समितिको निर्देशन र सात तालको अध्ययन प्रतिवेदनलाई आधार मान्दै तालहरुको मापदण्ड कायम गरिएको महानगरपालिकाको भनाई छ । महानगरले फेवातालको मापदण्ड तोक्न पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा फेवातालसँग जोडिएका वडाहरुका अध्यक्ष रहेको मापदण्ड सिफारिस समिति बनाएको थियो ।
समितिमा पोखरा–६ का वडाध्यक्ष जगतबहादुर पहारी, वडा नम्बर १८ का वडाध्यक्ष रणबहादुर थापा, वडा नम्बर २२ का अध्यक्ष मित्रलाल बराल, वडा नम्बर २४ का अध्यक्ष ओमप्रकाश सुवेदी र कार्यपालिका सदस्य बुधराज भुजेल (भीमसेन) रहेका थिए । त्यस्तै, लेखनाथका तालहरुको मापदण्ड तोक्न डा.सोमनाथ सापकोटाको संयोजकत्वमा छुट्टै समिति बनाएको थियो ।
त्यहि समितिको सिफारिसका आधारमा महानगरले फेवातालसहित पोखरा महानगर भित्र पर्ने सबै तालहरुको मापदण्ड तोकेको महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिईन् । नया मापदण्ड अनुसार पोखराको फेवातालसहित पोखरा महानगर भित्र पर्ने ९ वटै तालहरुको मापदण्ड पहिलेको भन्दा घटाइएको छ । पर्यटकीय गन्तव्यका रुपमा रहेको फेवातालको मापदण्ड ३० मिटर मात्र कायम गरिएको छ । यसअघी फेवातालको मापदण्ड ६५ मिटर थियो ।
तर अहिले पहिलेको भन्दा ३५ मिटर घटाएर मापदण्ड कायम गरिएको छ । फेवातालको मात्र होईन पोखराका अन्य तालहरुको पनि मापदण्ड घटाइएको छ । महानगरपालिकाले बेगनास र रुपातालको मापदण्ड ५५ मिटर कायम गरेको छ । ती तालहरुको मापदण्ड यसअघि एक सय मिटर थियो । तर अहिले ४५ मिटर घटाएर ५५ मिटर कायम गरिएको हो ।
अन्य साना तालहरु दीपाङ, गुँदे, मैदी, खाष्टे, न्यूरेनीको पनि मापदण्ड घटाइएको छ । यी साना तालहरुको मापदण्ड २० मिटर कायम गरेको महानगरपालिकाको निर्णयमा उल्लेख छ । यसअघी यी तालहरुको मापदण्ड नतोकिएपनि एक सय मिटरसम्मका जग्गाहरु रोक्का गरिएको थियो । तर महानगरले रोक्का गरेको भन्दा ८० मिटर घटाएर २० मिटर मात्र कायम गर्ने निर्णय गरेको छ । घटेको मापदण्ड कायम गर्ने महानगरपालिकाको तयारी छ ।
बाँकी कित्ताको जग्गा फुकुवा गर्न सम्बन्धित निकायलाई सिफारिस गर्नेसमेत कार्यपालिका बैठकले निर्णय गरेको उप–प्रमुख गुरुङले बताईन् । मपदण्ड सिफारिस समितिका संयोजक तथा पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले यसअघिका सबै प्रतिवेदनहरुको अध्ययन पश्चात वैज्ञानिक तरिकाले मापदण्ड निर्धारण गरिएको दाबी गरे । ‘हामीले हाम्रो निर्णय दिएका होइनौं, यसअघिका प्रतिवेदनहरुको आधारमा नया मापदण्ड कायम ग¥यौं’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







