मौवाफाँटमा खेलमैदान निर्माण सुरु


     एभरेस्ट आवाज    
     चैत्र १८ गते २०७८ मा प्रकाशित




म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा समाजसेवा युवा क्लबको खेलमैदान निर्माण सुरु भएको छ । गण्डकी प्रदेशको युवा तथा खेलकूद मन्त्रालयबाट विनियोजन भएको रु २० लाख बजेटबाट खेलमैदान निर्माण सुरु गरिएको हो ।

गाउँपालिकाको केन्द्रमा व्यवस्थित खेलमैदान नभएको अवस्थामा मन्त्रालयबाट बजेट प्राप्त भएपछि खेलमैदान निर्माणकार्य सुरु गरिएको क्लब अध्यक्ष बुद्धिबहादुर खत्रीले बताए । उनका अनुसार खेलमैदानको लागि उपयुक्त जग्गा व्यवस्थापनमा कठिनाइ भएपछि गाउँहुँदै वर्षात्मा पानी बग्ने द्ववारेखोलालाई जमिनमुनिबाट बगाएर मैदान बनाउने काम सुरु गरिएको छ ।

खोलाको दायाँबायाँका जग्गाधनीले करिब रु ५० लाख बढी मूल्यपर्ने जग्गा निःशुल्क उपलब्ध गराएपछि खोलालाई जमिनमुनिबाट बग्ने प्रबन्ध मिलाएर खेलमैदान बनाउन सुरु गरिएको उनले जानकारी दिए । पहिलो चरणमा मन्त्रालयबाट प्राप्त बजेटबाट खेलमैदानको लागि जग्गा सम्माउने काम सुरु गरिएको छ ।

लगत्तै खोला हुँदै बग्ने पानीलाई पक्की नाली बनाएर मैदानको मुनिहुँदै बग्ने पूर्वाधार निर्माण सुरु गरिने क्लबका सचिव थम बुद्धुजाले जानकारी दिए । ३० मिटर लाम्बाइ र २३ मिटर चौडाइको खेलमैदानमा प्याराफिटसमेत निर्माण गरिने क्लबले जनाएको छ ।

खेलमैदान निर्माणका लागि द्ववारेखालाको दायाँबायाँका जग्गाधनी यामकुमारी गर्बुजा, सरस्वती पौडेल, नवराज सुवेदी, मेषबहादुर खत्री, गोविन्दबहादुर खत्री, कृष्णलाल शर्मा र मधु सुवेदी लगायतले जग्गा उपलब्ध गराएको क्लबले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।