बुटवल । रूपन्देहीको सैनामैना नगरपालिकामा विपन्न तथा घरबारविहीन परिवारलाई नमूना घर हस्तान्तरण गरिएको छ । वर्षौंदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरबारविहीन रहेका अत्यन्त विपन्न परिवारलाई छनोट गरी बिहीबार नगरपालिकाले नमूना बस्ती हस्तान्तरण गरेको हो ।
सैनामैना नगरपालिकाले चक्रपथ निर्माण गर्दा विस्थापित हुनसक्ने परिवारका लागि भन्दै वडा नं ११ कञ्चन खोलाको किनारमा नमूना बस्ती निर्माण गरेको थियो । तराई–मधेस समृद्धि कार्यक्रमको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएका नमूना घरमा एक शौचालय र तीन कोठा रहेका छन् ।
आर्थिक वर्ष २०७५÷७६ देखि सुरू गरिएको बस्ती निर्माणमा रु एक करोड ८६ लाख ५७ हजार बजेट लगानी भएको नगरपालिकाका इञ्जिनियर अरूण खनालले जानकारी दिए । नगरपालिकाले निर्माण गरेका १० घरमध्ये बिहीबार नौ घर हस्तान्तरण गरिएको हो । नगरपालिकाका अधिकृत सन्तकुमार चौधरीले नगरपालिकाका सबै वडाबाट एक÷एक सबभन्दा विपन्न परिवार छनोट गरी घर हस्तान्तरण गरिएको जानकारी दिए ।
नगरपालिकाले उपप्रमुख बीना रानाको संयोजकत्वमा सन्तकुमार चौधरी र पञ्जीकरण अधिकृत केशवराज अर्याल सदस्य रहेको समिति गठन गरी विपन्न परिवार छनोट गरेको थियो । वडा कार्यालय र समितिले गरेको सिफारिसका आधारमा उक्त परिवारलाई घर हस्तान्तरण गरिएको हो ।
चक्रपथ निर्माणका क्रममा वडा नं ५ मा रहेको सानो घरसमेत भत्काएर विस्थापित बनेकी राजकुमारी थारूले नगरपालिकाले घर बनाएर दिएपछि खुसी लागेको बताए । विकास निर्माण गर्दा घरखेत नै गुमाउने परिवारलाई नगरपालिकाले जस्तै बासको व्यवस्था गरिदिनुपर्ने उनले बताए ।
हस्तान्तरण गरिएका घरपरिवारबाट नगरपालिकाले मासिक रु १०० शुल्क लिने गरी कार्यविधि बनाइएको नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







