फिर्के खोला अतिक्रमण रोक्न अख्तियारमा उजुरी


     एभरेस्ट आवाज    
     चैत्र १८ गते २०७८ मा प्रकाशित




कास्की । वातावरण संरक्षणका लागि महाअभियान कास्कीले फिर्केखोला अतिक्रमण रोक्न पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयमा उजुरी दिएको छ ।

पोखरा महानगरपालिका– १८ अँधेरीकुनादेखि सुरु भई वडा नं २, ४, ५, ८, ७, ६ हुँदै वडा नं १७ फेवातालमा समाहित हुने फिर्के खोलामा चरम अतिक्रमण गरी संरचना निर्माण भइरहेको र पटक–पटक जानकारी गराउँदासमेत यस विषयमा पोखरा महानगरपालिकाले गम्भीरतापूर्वक नलिएको व्योहोरा उल्लेख गरी आयोगमा उजुरी दिएको अभियानका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

उनले मुहानबाट फेवातालसम्म व्यापक अतिक्रमण हुँदै गएको र कथित नयाँ प्रमाण देखाएर अद्यावधिक गरेको भन्दै लालपूर्जा देखाएको ‘राइट अफ वे’ पनि देखाउन नसकेका कारण यो रोक्न अख्तियार पुगेको बताए। प्राकृतिक सम्पदाको संरक्षण र सम्बद्र्धन गरेर अघि बढ्नुपर्ने निकाय नै यस विषयमा गम्भीर हुन नसक्दा अतिक्रमण बढ्दै प्राकृतिक सम्पदा नासिँदै गएको उनको भनाइ छ ।

पौडेलले सोही व्योहोराको निवेदन कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायलाई पनि बुझाएर ध्यानाकर्षण गराएको जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले तत्काल अतिक्रमण रोक्नका लागि पोखरा महानगरपालिकालाई तथा यस कार्यमा आवश्यक समन्वय गर्नका लागि जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिसकेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।