गाडी दुर्घटनामा परी नौ जनाको मृत्यु, चार घाइते


     एभरेस्ट आवाज    
     चैत्र १८ गते २०७८ मा प्रकाशित




काश्मिरको भारत नियन्त्रित क्षेत्रमा विवाहका सहभागीहरूलाई बोकेर गुडिरहेको गाडी दुर्घटनामा परी कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ ।

भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करीब १४७ किलोमिटर दक्षिणपश्चिममा पुन्च जिल्लाको बाफियाज क्षेत्रमा गाडी अनियन्त्रित भइ बिहीबार साँझ गहिरो खोल्सामा खसेको र उक्त घटनामा वैवाहिक कार्यक्रम गएका व्यक्तिहरूको निधन भएको हो ।

गत साँझ विवाह भोजमा सहभागी मानिसहरूलाई गाडीको सीट क्षमताभन्दा बढी लिएर गुडिरहेको समय उक्त सवारी साधन पहाडी बाटोबाट करिब ३०० फिट गहिरो खोल्सामा खसेको थियो ।

एक प्रहरी अधिकृतका अनुसार छ जना घटनास्थलमा र अन्य तीन जनाको अस्पतालमा उपचारका क्रममा निधन भएको हो । दुर्घटनामा चालकसहित अन्य चार जना गम्भीर घाइते भएका र उनीहरूको अस्पतालमा भर्ना गरी उपचार भइराखेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घुमाउरो बाटो काट्दै गर्दा चालकले गाडीमाथि नियन्त्रण गुमाएको बताइएको छ । नौ जना यात्रुको क्षमता भएको उक्त गाडीमा १३ जनाले यात्रा गरिरहेको बुझिएको प्रहरी स्रोतले बताएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।