कालिका मन्दिरमा भक्तजनको भीड


     एभरेस्ट आवाज    
     चैत्र १९ गते २०७८ मा प्रकाशित




बागलुङ । चैते दसैँ नजिकिएसँगै गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङको कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । अहिले मन्दिर परिसरको पार्किङस्थलमा सवारी साधन पार्किङ गर्ने ठाउँको अभाब हुनाका साथ पूजा सामग्री खरिद गर्ने पसलमा भीड लागेको छ ।

मन्दिरमा लागेको भीड मूल प्रवेशद्वारसम्म नै पुगेकाले पोखरा–बागलुङ राजमार्गसमेत बेलाबेलामा जाम हुन थालेको छ । कोरोनाको महामारीका कारण विगत दुई वर्षको चैते दसैँमा नखुलेको कालिका मन्दिरमा अहिले काठमाडौँ, चितवन, भैरहवा, पोखरालगायत स्थानबाट भक्तजन दर्शनका लागि आएका छन् ।

उक्त मन्दिरमा वडा दसैँ र चैतेदसैँको नवरात्रमा ठूलो भीड लाग्ने गर्दछ । लामो समयपछि खुलेको उक्त मन्दिरमा दर्शन गर्नेको सङ्ख्या अधिक रहेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । कोरोनाका कारण लामो समयसम्म मन्दिर बन्द हुँदा भक्तजनले बलिसमेत दिन पाएका थिएनन् ।

अहिले बलि चढाउने, भाकल गर्ने तथा मन्दिर परिसरमा पूजापाठ लगाउनेको चाप बढेको उनको भनाइ थियो । मन्दिर क्षेत्रमा भीडभाड भएसँगै जिल्ला प्रहरी कार्यालयले सुरक्षा बढाएको छ । चैते दसैँको अवसरमा गुठीले यही चैत २४ देखि २८ गतेसम्म चैते दसैँ मेलासमेत आयोजना गरेको छ ।

मन्दिरमा चैत्राष्टमी र वडादसैँमा विशेष पूजाआजा हुने भएकाले यही समयमा धेरै भक्तजनको भीड लाग्ने गरेको छ । उक्त मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।