वाराणसीमा प्रधानमन्त्री देउवालाई मुख्यमन्त्री आदित्यनाथले गरे स्वागत


     एभरेस्ट आवाज    
     चैत्र २० गते २०७८ मा प्रकाशित




वाराणसी । भारतको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी पुगेका छन् ।

उनलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायत उच्च अधिकारीहरूले स्वागत गरेका थिए । सो विमानस्थलबाट बाहिर निस्किएपछि प्रधानमन्त्री देउवालाई सडकको दायाँ बायाँ रहेका नागरिकहरुले स्वागत गरेका थिए । स्थानीय कला र संस्कृति झल्किने विविध झाँकीहरुबाट पनि उहाँको सम्मान र स्वागत गरिएको थियो । त्यहाँ रहँदा प्रधानमन्त्री देउवाले धर्मपत्नी डा आरजु राणा देउवासहित काशी विश्वनाथको पूजाअर्चना गर्ने कार्यक्रम छ ।

साथै प्रधानमन्त्री देउवाले त्यहाँस्थित समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्नेछन् ।

त्यसअघि प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी विमानस्थलमा भारतको बाह्य मामिला मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए ।

प्रधानमन्त्री देउवा आजै अपराह्न त्यहाँबाट नयाँदिल्लीका लागि प्रस्थान गर्नेछन् भने साँझ नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।