निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा प्रमुखलाई मुख्यमन्त्रीको निर्देशन


     एभरेस्ट आवाज    
     चैत्र २३ गते २०७८ मा प्रकाशित




बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आसन्न स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।

आज बागलुङमा आयोजित साबिकको धौलागिरिका चार जिल्लाका सुरक्षा प्रमुखहरुलाई निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन अनुरोध गर्दै नेपालीले सबै शक्ति भयरहित वातावरणमा मतदान गर्न सक्ने वातावरण बनाउन निर्देशन दिएका हुन्। निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको भन्दै उहाँले जिल्लाको अवस्था अनुसार सुरक्षा योजना बनाउन निर्देशन दिएका छन्।

अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा चार जिल्लाको सुरक्षाको अवस्था, सबल पक्ष र चुनौतीका बारेमा प्रमुख जिल्ला अधिकारीहरूको प्रस्तुति सुनेपछि उनले उक्त निर्देशन दिएका हुन् । प्रदेशको आन्तरिक मामिला मन्त्रालयले गरेको कार्यक्रममा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय प्रमुख सहभागी थिए ।

निर्वाचन आयोग र सङ्घ सरकारले निर्वाचनका लागि विशेष योजना बनाउने भए पनि यसमा प्रदेश सरकार समन्वय गरेर अगाडि बढ्ने नेपालीले बताए । बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, पर्वतका नारायणप्रसाद सापकोटा, म्याग्दीका चिरञ्जीवी राना तथा मुस्ताङका नेत्रप्रसाद शर्माले जिल्लाको सुरक्षा अवस्था र चुनौतीका विषयमा जानकारी गराएका थिए ।

मुख्यमन्त्री पोखरेलले सुरक्षा समन्वय बैठकमा सहभागी हुनुपूर्व नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरको दर्शन गरेका थिए । मुख्यमन्त्री नेपालीलाई कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले खादा ओढाएर सम्मान गरेका थिए ।

मुख्यमन्त्री नेपालीका साथ बागलुङ आउनुभएका नेपाली प्रहरी गण्डकी प्रदेश प्रमुख डिआइजी दिवेश लोहनी, लगायतका व्यक्तिलाई समेत गुठीका अध्यक्ष खड्काले स्वागत गरेका थिए।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।