म्याग्दी । गृहमन्त्री बालकृष्ण खाँडले वर्तमान सत्ता गठबन्धनले आगामी सङ्घीय र प्रदेशसभा निर्वाचनसम्म निरन्तरता पाउने बताएका छन्। नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गठबन्धनमा आबद्ध दललाई समेटेर साथसाथै लैजानुपर्ने धारणा राखेका हुन् ।
संसद्मा साथै भएका दलसँगको सहकार्यलाई निरन्तरता र हातेमालो गरेर संविधान, मानवअधिकार, प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्ने मुख्य कार्यभारतर्फ केन्द्रित हुन उहाँले कार्यकर्तालाई निर्देशन दिए । नेपाल छन्त्याल सङ्घको सातौँ महाधिवेशनमा भाग लिन बेनी आउने क्रममा मन्त्री खाँड हेलिकप्टरमार्फत धवलागिरि गाउँपालिका–१ गुर्जामा पुगेका हुन्।
छन्त्याल र दलित समुदायको बसोबास रहेको विकट गुर्जा जस्ता बस्तीका बासिन्दा र त्यहाँ कार्यरत कर्मचारीलाई थप सुविधा दिनेगरी योजना र नीति बनाउनुपर्ने मन्त्री खाँडको भनाइ थियो । यसैगरी आमाका नामबाट वंशजका आधारमा नागरिकता पाउने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि नागरिकता ऐन बनाउन छलफलमा जुटेको पनि मन्त्री खाँडले बताए ।
आमाका नामबाट नागरिकता नपाउँदा समस्यामा परेका बेनी नगरपालिका–७ का यास्मीन बेगम, समिर खान र सेनाज बेगमले उहाँलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका थिए । मन्त्री खाँडलाई नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा, पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले जिल्लाको वस्तु अवस्थाका बारेमा जानकारी गराएका थिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







