स्याङ्जा आँधीखोला गाउँपालिकाले ६ वटै वडामा पञ्चेबाजा बाँड्यो


     एभरेस्ट आवाज    
     चैत्र २६ गते २०७८ मा प्रकाशित




स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकाले ६ वटै वडाहरुमा पञ्चेबाजा वितरण गरेको छ।

लोप हुँदै गइरहेको परम्परागत र मौलिक नेपाली पञ्चेबाजा संरक्षणका लागि गाउँपालिकाको ६ वटै वडाको ८ समूहलाई बाजा वितरण गरेको हो। शुभ कार्यका लागि शुभ साइतका रूपमा लिइने बाजालाई लोप हुन नदिन पञ्चेबाजा संरक्षणका लागि बाजा समूहलाई पञ्चेबाजा वितरण गरेको गाउँपालिकाले जनाएको छ।

चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पञ्चेबाजा बजाउने सक्रिय दलित समुदायको प्रत्येक समूहलाई पञ्चेबाजाको २ नरसिंहा, २ सनही, २ दमाहा, १ ढोलकी, १ ट्याम्को र एक जोर झ्याली वितरण गरेको गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले जानकारी दिएका छन्।

करीब ८ लाख रुपैयाँ लागतमा खरिद गरिएका बाजा विभिन्न वडामा रहेका पञ्चेबाजा समूहलाई हस्तान्तरण गरिएको हो। सिरुवारी बाजा समूह आँधीखोला १, माझकटेरी बाजा समूह आँधीखोला १, उखुवारी बाजा समूह आँधीखोला २, मडुवा नौमति बाजा समूह आधीखोला २, पाख्रीबोट बाजा समूह आँधीखोला ३, पंचासे बाजा समूह आँधीखोला ४, सेपत बाजा समूह आँधीखोला ४, अरिङ्गाले बाजा समूह आँधीखोला ५ लाई बाजा उपलब्ध गराइएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।