नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको वार्षिकोत्सवमा शिक्षक–विद्यार्थीलाई सम्मान

- (फोटो फिचर सहित)


     जुना थापा    
     चैत्र २७ गते २०७८ मा प्रकाशित




नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको २० औं राष्ट्रिय परिषद तथा संगठनको ४३ औं वार्षिकोत्सव (शिक्षक दिवस) को अवसरमा विविध कार्यक्रम गरेको छ।

वार्षिकोत्सवको अवसरमा संगठनले कास्कीका सामुदायिक विद्यालयमा निरन्तर शिक्षण र विद्यालयको समुन्नतिमा पु¥याएको योगदानका आधारमा उत्कृष्ट शिक्षक सम्मान गरेको छ।

त्यस्तै, कोभिडका बेला देशैभरका कक्षा १० का एसईई विद्यार्थी लक्षित अनलाइन सिकाई केन्द्रमा निःशुल्क सिकाई सहजीकरण गर्ने शिक्षकहरुलाई समेत सम्मान गरेको छ। त्यस्तै, अक्षयकोषदाता र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व मन्त्री तथा नेकपा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले नेपालको राजनीतिमा शिक्षकले खेलेको भूमिका सधैँ महत्त्वपूर्ण रहेको चर्चा गरे। नेकपा एमालेका लागि अब आउने चुनाव चुनौतीपूर्ण रहेको नेता अधिकारीले उल्लेख गरे। आउने चुनावमा उल्लेखीय भूमिका निर्वाह गर्नेमा उनले विस्वास व्यक्त गरे।

कार्यक्रममा विशेष अतिथि शिक्षा समन्वय इकाई प्रमुख नारायणप्रसाद सुवेदी, मानवीय समन्वय इकाई प्रमुख मनबहादुर गुरुङ, नेकपा गण्डकी प्रेस सचिवालय सदस्य दीपक पौडेल, नेपाल पेशागत संगठन कास्कीका अध्यक्ष जगन्नाथ अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगरका अध्यक्ष विष्णुहरि त्रिपाठीलगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा संगठनका सचिव तिर्थराज ढकालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यामनाथ सुवेदीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको आइसिटी विभाग संयोजक दामोदर तिमिल्सिनाले बताए।

कार्यक्रममा शिक्षक सहकारीबारे सहकारीका अध्यक्ष उमनाथ गौतमले सहकारीको वर्तमान अवस्थाबारेमा बताए। कार्यक्रममा लक्ष्मी मावि अर्घौँका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए।

नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष वसुन्धरा पौडेलले स्वागत, उपाध्यक्ष हर्क लामिछानेले धन्यवाद ज्ञापन र सचिव तिर्थराज ढकालले संचालन गरेका थिए।

फोटो फिचर


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।