अब फोन गर्न रुख चढ्न बाध्यताको अन्त्य


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०७८ मा प्रकाशित




म्याग्दीका दुर्गम मल्कावाङ, मलम्पार, भेडिखाल्टालगायतका गाउँमा मोबाईल फोनमा कुरा गर्नको लागि घरको धुरी तथा रुख चढ्न पर्ने स्थानियको बाध्यता हटेको छ ।

नेपाल टेलिकमले धौलागिरि गाउँपालिका–५ मल्कबाङको धुरीमा टावर निर्माण गरेपछि उक्त स्थानका बासिन्दालाई फोन गर्न सहज भएको हो । टेलिकमले टुजी र थ्री जी सेवा एकसाथ सञ्चालनमा ल्याएको छ ।

टावर स्थापनापछि धौलागिरि गाउँपालिका–५ मल्कबाङ, मलम्पार, भेडीखाल्टा, होपा, वडा नं ६ को मराङ, बुल गाउँ, रघुगङ्गा गाउँपालिका–८ कुइने खानी तथा मालिका गाउँपालिका–७ बिमको अधिकांश भूभागमा सहजै मोबाइलमा कुरा गर्न सकिने भएको छ ।

टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यअनुरुप दुर्गम बस्तीलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरेको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए। टेलिकमले अहिले टुजीमार्फत भ्वाइस र थ्रीजीमार्फत भ्वाइस अनि डाटा एकसाथ सञ्चालनमा ल्याएको छ ।

सबै बस्ती र भूभाग समेट्ने गरी टावर निर्माण गरिएको शर्माको भनाइ छ । नेपाल टेलिकमसँगको सहकार्यमा स्थायी संरचना निर्माण गरी मोबाइल सेवा पुनः सञ्चालन गरिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।