होटल संघको आयोजनामा लेकसाईडमा शुरु भयो ‘सडक महोत्सव’


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०७८ मा प्रकाशित




पोखरा, चैत ३०

पोखरामा ‘सडक महोत्सव’ शुरु भएको छ । नेपाली नया वर्षको अवसरमा होटल संघ पोखराको आयोजनामा बुधबारदेखि पोखराको लेकसाईडमा ‘सडक महोत्सव’ शुरु भएको हो । विहीबारसम्म हुने महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरे । महोत्सव उद्घाटन अघि लेकसाईडको खहरेचोक र ड्यामसाइड गरेर दुई ठाउँबाट एकैपटक झाँकीसहितको ¥याली निकालिएको थियो । दुबैतर्फको ¥याली लेकसाइडको मध्य क्षेत्र अम्बोटमा पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो ।

नेपाली नया वर्षको अवसरमा संघले यसअघि आयोजना गर्दै आएको फेवा नव वर्ष महोत्सवलाई परिमार्जन गरि यस वर्ष ‘सडक महोत्सव’को नामबाट आयोजना गरिएको हो । रेष्टुरेण्ट एण्ड बार एशोसियसन अफ नेपाल (रेवान) पोखराकै शैलीमा ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ महोत्सव गरिएको छ । दुई दिने महोत्सवका मुख्य आकर्षणका रुपमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी, ख्याती प्राप्त कलाकार तथा स्थानिय कलाकारहरुको प्रस्तुती, लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य, लाइभ कन्सर्टलगायत रहेका छन् । लेकसाइडका तीन किलोमिटर क्षेत्रमा रहेका होटलहरुले होटल बाहिर नै निकालेर स्टल राखेका छन् ।

महोत्सवलाई रौनकता थप्न अम्बोट र सेन्टर प्वाइन्ट चोकमा दुई वटा ठूला स्टेज बनाइएको छ । जहाँ दिउँसो लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य तथा साँझमा लाइभ पप कन्सर्ट आयोजना गरिएका छन् । त्यस्तै, महोत्सव हुने तीन किलोमिटर क्षेत्रमा पर्ने ६ वटा चौतारीमा पञ्चेबाजा, रत्यौली, भजन, चुड्कालगायतका कार्यक्रम राखिएको संघका अध्यक्ष लक्ष्मण सुबेदीले बताए ।

महोत्सवमा यस वर्ष निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । सडकमा महोत्सव हुने भएकाले लेकसाईडका बाटोमा दुई दिन सवारी आवतजावतमा रोक लगाइएको अध्यक्ष सुबेदीले जानकारी दिए ।

महोत्सवको अवसरमा होटल संघले आफू मातहतका होटलहरुमा ३० प्रतिशत छुट दिइएको छ । महोत्सवको अवसरमा स्थानिय अन्नपूर्ण केवलकारले १० प्रतिशत छुट दिएको छ । महोत्सव अवधीभरका लागि रात्रीकालीन बस तथा ट्याक्सी सेवा दिने प्रबन्ध मिलाएको जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।