पोखरा, चैत ३०
पोखराको मेयर माग्दै कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका कास्कीका कांग्रेस नेताहरु निराश भएर फिर्ता भएका छन् । पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिने हल्ला चलेपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको ध्यानाकर्षण गर्न पुगेका कास्केली कांग्रेस नेताहरु पोखराको मेयर कांग्रेसले पाउने आश्वासन नपाएपछि निराश भएर फर्किएका हुन् ।
हाल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र जनमोर्चाबीच गठबन्धन छ । गठबन्धन बनाएर सरकार बनाएका यी दलहरुले स्थानिय तहको निर्वाचनमा नेकपा एमालेलाई हराउने उद्देश्यले गठबन्धनलाई निरन्तरता दिने बताउँदै आएका छन् । सोहि अनुरुप देशैभर भागवण्डा गरेर उम्मेदवार चयन गर्ने गठबन्धनको तयारी छ । जस अनुसार देशका ६ वटा महानगर मध्ये कांग्रेसले ३, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले १÷१ वटा महानगरको मेयर पाउनेगरी सहमति भएको बताइन्छ । सहमति अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर, माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जसपाले बिरगञ्ज पाएको बताइन्छ । यद्वपी यसको औपचारिक रुपमा सार्वजनिक गरिएको छैन ।
यहि सहमति भएको सुईंको पाएपछि पोखरा कुनैपनि हालतले कांग्रेसले पाउनुपर्ने भन्दै कास्केली कांग्रेसका नेताहरु काठमाडौं गएका थिए । उनीहरुको एकमात्र उद्देश्य पोखराको मेयर कांग्रेसबाहेक अरुलाई दिन नहुनेमा दवाब दिने थियो । सोहि योजना अनुरुप कास्की कांग्रेसका नेताहरु यज्ञबहादुर थापाको नेतृत्वमा काठमाडौं पुगेका थिए । टोलीमा कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, प्रदेश मन्त्री विन्दुकुमार थापालगायत थिए ।
टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट्न समय मागेका थिए । तर देउवाले बालुवाटारमा भेट्न समय नदिएको श्रोतको दाबी छ । देउवाले बालुवाटारमा भेट्न समय उपलब्ध नगराएपछि नेताहरुले प्रधानमन्त्रीलाई पार्टी कार्यालय सानेपामा भेटेर फर्किए । भेटमापनि देउवाले कास्केली नेताहरुको आशा विपरित हप्काएर पठाए । कास्केली कांग्रेस नेताहरुले कम्तिमा बिचार गर्छौं भन्ने आश्वासन पाउने आशा लिएर देउवालाई भेट्न गएका थिए तर जवाफमा उल्टै देउवाले उनीहरुलाई गठबन्धनका अन्य दलहरुलाई चिढ्याउने गतिविधि नगर्न चेतावनी दिए । उनले नेताहरुलाई गत निर्वाचनको परिणाम हेर्न भन्दै भनेका थिए,‘गठबन्धनलाई जोगाउनुपर्छ । होइन भने अन्य दलहरु अर्कोतिर गएर गठबन्धन बनाए भने हाम्रो स्थिति के हुन्छ ? त्यसको ख्याल गर्नुस्’–श्रोतले भन्यो । उनले निर्णय नभइसकेको अवस्थामा दवाब दिनका लागि किन आएको भनेरसमेत प्रश्न गरेको बताइएको छ ।
देउवाले पोखरामा कांग्रेसको राम्रो स्थिति भएको भए अघिल्लो चुनावमा किन नजितेको भन्दै नेताहरुलाई थर्काएका थिए । जवाफमा कास्केली कांग्रेस नेताहरुले गठबन्धन भत्काउने आफूहरुको उद्देश्य नभएको बताएका थिए । पोखरामा यसपटक कांग्रेसको पक्षमा माहोल बनेको भने उनीहरुले जिकीर गरेका थिए । नेताहरुले कांग्रेसको धेरै मत भएकाले पोखरामा कांग्रेसलाई जित्न सजिलो हुने तर थोरै मत भएका अन्य पार्टीलाई जित्न मुश्किल हुने बताएका थिए । देउलाई भनेका कुरा उद्धृत गर्दै भेटमा सहभागि एक नेताले भने,‘धेरै मतलाई थोरैमा मिसाउँदा सोंचेजस्तो नतिजा नआउन सक्छ तर थोरै मतलाई धेरैमा मिसाउँदा जितिने सम्भावना प्रचुर हुन्छ ।’
नेताहरुको कुरा सुनेपछि देउवाले ‘त्यसो भए यहाँ आएका मध्येबाट उम्मेदवार बनाउन कुनै एकको साझा नाम दिनूस् सक्नुहुन्छ’–भनेका थिए । देउवाको प्रश्नमा नेताहरु नाजवाफ बनेको श्रोतले बतायो ।
कास्केली कांग्रेस नेताहरुले प्रधानमन्त्री बाहेक उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, पूर्व महामन्त्री शशांक कोइरालालगायतलाईपनि भेटेका थिए । भेटमा उनीहरुले पोखराको मेयर कुनैपनि हालतमा अन्य पार्टीलाई नदिन दवाब दिएको बताइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







