कास्की । निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ ।
बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय क्षेत्र पोखरा ९कास्की० बाट नयाँदिल्ली सिधा उडान गर्ने तयारी गरेको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडान गर्ने तयारी भइरहेको जानकारी दिए ।
उनका अनुसार बुद्ध एयरले पोखराबाटै भारतको देहरादुन गन्तव्यमा पनि उडान गर्ने योजना बनाएको छ । पोखराबाट दिल्ली गन्तव्यमा दैनिक दुई वटा उडान सञ्चालन गरिनेछ । उक्त गन्तव्यको उडान एक घण्टा ३० मिनेटको हुन्छ ।
कम्पनीले यसअघि भारतको वनारस र कोलकात्तामा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोगमा ल्याएका एटिआर ७२ जहाजमार्फत नै दिल्ली गन्तव्यमा उडान गर्ने जनाएको छ । बुद्ध एयर आन्तरिक उडानमा सबैभन्दा बढी एटिआर जहाज भएको कम्पनी पनि हो । नजिकका गन्तव्यमा तिनै जहाजले अन्तर्राष्ट्रिय उडान भर्ने गरेको छ ।
पर्यटकीय गन्तव्य पोखराबाट दिल्ली उडान गर्दा भारतीय पर्यटक बढोत्तरी हुने विश्वास लिइएको छ । पर्यटकीय गन्तव्यमा सिधै पुग्न सकिने भएकाले यो गन्तव्य व्यावसायिक हिसाबले पनि निकै सम्भावनायुक्त गन्तव्य हुने व्यवसायीको बुझाइ छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चाँडो सञ्चालन भएमा त्यहाँबाट सिधा नयाँदिल्ली उडान गर्ने योजनअनुरुप आवश्यक प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ ।
उक्त गन्तव्यमा सिधा उडानका लागि नेपाल र भारत दुवैतर्फको प्रक्रिया पूरा गरेर उडान सञ्चालन गर्नेगरी काम भइरहेको कम्पनीका सूचना अधिकारी कर्णले जानकारी दिनुभयो । आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओगट्ने बुद्ध एयरले अहिले दैनिक १५० भन्दाबढी उडान गरिरहेको छ ।
यी उडानमार्फत दैनिक आठ हजार ५०० हाराहारी यात्रुले सेवा लिइरहेको कम्पनीले जनाएको छ । बुद्ध एयरसँग ११ वटा एटिआर–७२, तीन वटा एटिआर–४२ र दुई वटाबीच क्राफ्टसहित १६ जहाज छन् । थप चार जहाज आउने प्रक्रियामा रहेको र करिब चार महिनाको अन्तरालभित्रै ती जहाज नेपाल आइपुग्ने कम्पनीले जनाएको छ ।
वनारसमा मे पहिलो सातादेखि उडान
बुद्ध एयरले काठमाडौँ–बनारस गन्तव्यमा पुनःसिधा उडान गर्ने तयारी गरेको छ । बनारस उडानको प्रक्रिया पूरा भइसक्यो कम्पनीले जनाएको छ । भारतको चर्चित तीर्थस्थल वनारस पनि सम्भावना भएको गन्तव्य मानिन्छ ।
उक्त गन्तव्यमा कोभिड सङ्क्रमणको उच्च जोखिमका कारण उडान स्थगित भएको थियो । धार्मिक पर्यटनका दृष्टिकोणले भारतको बनारस महत्वपूर्ण गन्तव्य मानिन्छ । काठमाडौँदेखि वनारसलाई धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुद्धले उडान गरिरहेको थियो ।
बुद्ध एयरले आन्तरिक उडानमा एटिआर जहाजमार्फत गुणस्तरीय सेवा प्रदानका साथै पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको छ । सन् १९९७ अक्टोबर ११ मा बुद्ध एयरले पहिलो उडान गरेको थियो । यसले उडानकै सुरुआतमा अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याएको थियो ।
पोखरालाई हब बनाएर उडान
बुद्ध एयरले पोखरा विमानस्थललाई हब बनाएर सबै सुगम गन्तव्यका सहर जोड्ने योजना बनाएको छ । जसअनुरुप बुद्धले हाल पोखराबाट छ सहरलाई जोडिसकेको छ ।
पोखराबाट जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगञ्ज र धनगढी गन्तव्यमा उडान गरिरहेको कम्पनीले जनाएको छ । छिट्टै पोखरा–भद्रपुर पनि सेवा सञ्चालन गर्ने आवश्यक तयारी गरिसकेको छ ।
वैशाख २ गतेदेखि उडान गर्ने भनिए पनि प्राविधिक कारण केही विलम्ब हुने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक ११ हेलिकप्टर कम्पनीसहित २० हवाई सेवा प्रदायक कम्पनीले उडान सेवा दिइरहेका छन् ।
अन्तर्राष्ट्रियमा दुई नेपालीसहित २३ वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







