७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत, ६७६ तहमा निर्वाचन अधिकृत खटिए


     एभरेस्ट आवाज    
     वैशाख ४ गते २०७९ मा प्रकाशित




यही वैशाख ३० गते हुने स्थानीय चुनावका लागि निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोकेको छ।

त्यस्तै, आयोगले ७५३ स्थानीय तहमध्ये ६७६ तहमा निर्वाचन अधिकृत समेत खटाएको छ। सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको आयोगले जनाएको छ।

प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई कार्यक्षेत्रमा जान नियुक्तिपत्र दिइसकिएको आयोगले जनाएको छ। आयोगको निर्वाचन कार्यक्रमबमोजिम देशैभरिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई चुनावी प्रयोजनका लागि चैत २९ गतेदेखि लागू हुनेगरी नियुक्तिपत्र दिइएको हो ।

यही वैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृत कार्यालय खुल्ने र अधिकृतको कार्यालय मातहत रहेर ९ जना कर्मचारीले निर्वाचन सम्बन्धी काम गर्ने आयोगले जनाएको छ। आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण दिइसकिएको जनाएको छ। देशको विभिन्न ८ सहरमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको प्रशिक्षणपछि नियुक्तिपत्र दिएर कार्यक्षेत्रमा पठाइएको हो।

आयोगले चैत ३० गते विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा प्रशिक्षण संचालन गरेको थियो। त्यसैगरी, वैशाख २ गते जनकपुरधाम, बुटवल, हेटौँडा र धनगढीमा प्रशिक्षण सम्पन्न गरेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।