बाह्य लगानी भित्र्याउन सहजीकरण गर्न तयार छौँ : मुख्यमन्त्री शाही


     एभरेस्ट आवाज    
     वैशाख ५ गते २०७९ मा प्रकाशित




सुर्खेत । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारले आवश्यक सहयोग एवं सहजीकरण गर्ने बताएका छन् ।

सुर्खेतमा स्थापना हुने तयारीमा रहेको सूर्यतारा सिमेन्ट उद्योगका सञ्चालक र प्रदेश सरकारबीच आज मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा उनले बाह्य लगानी नआउँदासम्म कर्णाली विकासमा पछाडि पर्ने बताए ।

उनले खानी र उद्योगसम्म सडक तथा पानी पु¥याउन प्रदेश सरकारले तत्कालै काम थाल्ने प्रतिबद्धता जनाए। साथै उनले उद्योगले प्रदेशलाई गर्ने योगदानका आधारमा करलगायतका क्षेत्रमा सहुलियत प्रदान गर्न सरकार तयार हुने बताए ।

प्रदेश सरकारले नीतिगतरुपमै आवश्यक सहुलियतको व्यवस्था गरे पनि प्रदेशमा ठूला लगानीकर्ता आउन नसकेको उनको भनाइ छ ।

बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा खानी र चौकुनेमा उद्योग सञ्चालन गर्न लागेको सूर्यताराले आवश्यक सहजीकरण र भावी योजनाकाबारेमा प्रदेश सरकारलाई जानकारी गराएको थियो ।

झण्डै रु १५ अर्ब बराबरको लगानीमा सञ्चालन हुन लागेको उद्योगले दुई वर्षभित्र सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । यसका लागि उद्योगले चौकुनेमा आवश्यक जग्गा खरिद गरिसकेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।