कक्षा १२ को परीक्षा तयारी पूरा, ४ लाख ३ हजार १ सय ८० जना परीक्षार्थी सामेल हुँदै


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित




कार्तिक २७ काठमाडौँ । कोभिड–१९ का कारण स्थगित कक्षा १२ को परीक्षाकोे तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

मंसिर १६ गतेसम्म सञ्चालन हुने परीक्षामा ४ लाख ३ हजार १ सय ८० जना परीक्षार्थी सामेल हुँदै छन् ।

बोर्डका अनुसार १२ हजार ४ सयभन्दा बढी परीक्षार्थीले आफूलाई पायक पर्ने विद्यालयबाट परीक्षा दिन आवेदन दिएको छन् । बाँकी परीक्षार्थीले आफूले पढेको विद्यालय नै रोजेको परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए ।

परीक्षाका लागि देशभरि ११ र १२ कक्षा पढाइ हुने ४ हजार १ सय ५ विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) तोकिएको छ ।

बोर्डले ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरणसम्बन्धी कार्यविधि, २०७७’ जारी गरेको छ ।

त्यसअनुसार यो पटक पढेकै विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । सम्बन्धित विद्यालयको प्रधानाध्यापक परीक्षा केन्द्रको केन्द्राध्यक्ष रहन्छ । उपत्यका बाहिर वा टाढा रहेका परीक्षार्थीले सक्कल प्रवेशपत्र लिएर आफू नजिकको विद्यालयको परीक्षा केन्द्रबाट जाँच दिन पाउँने व्यवस्था छ । ती परीक्षार्थीको उत्तरपुस्तिका बोर्डको सम्बन्धित कार्यालयमार्फत जाँचिने छ ।

यो परीक्षाको सैद्धान्तिक अङ्कभार ४० प्रतिशत र आन्तरिक मूल्यांकन २० प्रतिशत कायम गरिएको छ । सम्बन्धित विद्यालयले आफ्नो विद्यार्थीको परीक्षा लिएर विषय शिक्षकले उत्तरपुस्तिका जाँच्न पाउने छन् । कार्यविधिअनुसार जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्ने गरी प्रत्येक विद्यार्थीको कम्तिमा २–२ मिटरको दुरी कायम गरी एउटा परीक्षा हलभित्र बढीमा २० परीक्षार्थी राख्न सक्ने छन् । स्थानीय तह, स्वास्थ्य संघ संस्थाहरूसँग समन्वय गरी ‘हेल्थ डेस्क’को व्यवस्था गर्नुपर्ने छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।