बागलुङ । निसीखोला गाउँपालिकामा अहिले धमाधम झोलुङ्गे पुल निर्माण भइरहेका छन् । गत वर्ष गाउँपालिका–६ को सेबाङघाट, सरिटारघाट, चुसाङघाट र वडा नम्बर ७ को कुतखोलाघाट, वडा नम्बर ३ र ४ जोड्ने ढुवाँखोरघाट पुल, वडा नम्बर १ को माराघाट, वडा नम्बर २ धौलेघाट झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए।
उनका अनुसार यस वर्ष निसीखोला गाउँपालिका–४ र ५ जोड्ने कारीखोलामा, वडा नम्बर ६ को मगराखोलामा वडा नम्बर ५ यारीखोलामा, वडा नम्बर ३ र ४ जोड्ने गतेराखोलामा वडा नम्बर २ र ३ जोड्ने खग्रेनीघाटमा, वडा नम्बर एकको आठबारेघाटमा र वडा नम्बर ७ को खनिबासमा नयाँ पुल निर्माण भइरहेका छन् ।
पुल निर्माणपछि दैनिकी सहज बन्ने निसीखोला गाउँपालिका–५ का मानसिंह बुढाले बताए । उनले पुल जीर्ण भएपछि जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता रहेको भन्दै अब यसको अन्त्य हुने उनको विश्वास छ । उनले पुल नबन्दा खोला वारपार गर्दा धेरै बालबालिका, महिला र ज्येष्ठ नागरिकले धेरै सास्ती र सकस पाउने गरेको बताए ।
निसीखोला–७ का प्रतापजंग थापाले खोला वारपार गर्ने झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिम मोलेर यात्रा गर्नु परेको भन्दै अब यो समस्याको समाधान हुने उहाँको भनाइ छ । पुल निर्माणपछि गाउँका सबै नागरिकलाई वारपारमा सहजता थपिने थापाले बताए । सात वटा पुल निर्माणका लागि झण्डै दुई करोड बजेट लाग्ने सूचना अधिकारी गौतमको भनाइ छ ।
केन्द्रीय सरकारको ८७ प्रतिशत र गाउँपालिकाको १३ प्रतिशत बजेट साझेदारीमा पुल निर्माण हुन थालेको गौतमले बताए । गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जनताको माग र आवश्यकताको आधारमा पुल निर्माण भइरहेको बताए । अध्यक्ष पौडेलले पालिकाभित्रका कुनै पनि नागरिकलाई खोला वारपारमा समस्या नहोस भन्ने हेतुले केन्द्रीय सरकारसँगको समन्वयमा पुल निर्माण गरि रहेको जनाएका छन् ।
गत वर्ष गाउँपालिकाको विभिन्न वडामा सात वटा झोलुङ्गे पुल निर्माण भएका थिए भने यस वर्ष पनि थप सात वटा नयाँ झोलुङ्गे पुल निर्माण गरिएको हो । पुल निर्माणले स्थानीयमा खुसीसमेत छाएको छ । गाउँपालिकाले जीर्ण बनेका पुल विस्थापित गर्ने र आवश्यक स्थानमा धमाधम नयाँ झोलुङ्गे पुल निर्माण गर्ने अभियानलाई तीव्र बनाएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







