गण्डकी प्रदेशका सम्पदा सूचीकृत गर्न आग्रह


     एभरेस्ट आवाज    
     वैशाख ७ गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशका प्राकृतिक सम्पदाहरुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले आग्रह गरेको छ ।

विश्व सम्पदा दिवसको अवसरमा नाट्टा गण्डकीले प्रदेशमा रहेका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक पुरातात्विक महत्व बोकेका स्थल पहिचान र संरक्षणका लागि सरोकारवालाबीच छलफल गर्दै युनेस्कोको लिष्टमा भएका सम्पदालाई सूचीकृत गर्दै थप सम्पदाको खोजीका लागि आग्रह गरेको हो ।

कार्यक्रममा पुरातत्व विभाग सम्पदा संरक्षण शाखाका प्रमुख रमेशराज पौडेलले गण्डकी प्रदेशमा कैयौँ प्राकृतिक सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा रहेकाले ती सबैको पहिचान र संरक्षणको आवश्यकता औँल्याए । उनले सम्पदा कुनै पनि देशको विशेष सम्पत्ति भएकाले यसको संरक्षण र सम्वद्र्धनमा सरकारसँगै नागरिकको पनि उत्तिकै चासो र अग्रसरता आवश्यक हुनेमा जोड दिए ।

उनका अनुसार हालसम्म विश्वसम्पदा सूचीमा आठ वटा सांस्कृतिक र दुई वटा प्राकृतिक गरी १० वटा सम्पदा सूचीकृत छन् । त्यसैगरी युनेस्कोले नेपालमा १५ वटा सांस्कृतिक सम्पदालाई ‘टेन्टेटिभ लिष्ट’मा राखेको छ । त्यसमा गण्डकी प्रदेशअन्तर्गत मुस्ताङको मुक्तिनाथ उपत्यकाको गुफा वास्तुकला, गोरखास्थित मध्यकालीन दरबार क्षेत्र र लोमान्थाङ वालसिटी रहेका छन् ।

यसका अतिरिक्त गण्डकी प्रदेशका लमजुङ, तनहुँ, पर्वत, बागलुङलगायतका जिल्लामा ऐतिहासिक धार्मिक, सांस्कृतिक महत्वका स्थल रहेका र ती क्षेत्र उत्खनन र संरक्षणको प्रयास भइरहेको प्रमुख पौडेलले जानकारी दिए । प्राध्यापक डा नारायणप्रसाद अधिकारीले कालीगण्डकी नदीको सभ्यताको महत्व दर्शाउँदै सम्पदाको रुपमा सूचीकृत गर्नुपर्नेमा जोड दिए ।

नाट्टा गण्डकीका निवर्तमान अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रदेशका सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक धार्मिक, भौगोलिक महत्व राख्ने सम्पदाको खोजी गरेर गण्डकी प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने धारणा राखे । फेवाताल अतिक्रमण बढ्दै गएको तर्फ सङ्केत गर्दै उनले आउने पुस्ताले फेवाताललाई कुन स्वरुपमा देख्ने हुन् भन्ने विषयमा अहिले नै चिन्तन आवश्यक रहेको बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।