म्याग्दी । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका राजनीतिक दलहरुले उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएका छन् ।
म्याग्दीका तीन ठूला दल नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले अहिलेसम्म सार्वजनिक गरेका उम्मेदवारमा प्रमुख पदमा एक पनि महिला उम्मेदवार छैनन् भने वडाध्यक्षको उम्मेदवारमा पनि एक महिला मात्र समेटिएका छन् । एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय तह रहेको म्याग्दीमा ४५ वडा छन् ।
यी ४५ वडाका लागि बिहीबारसम्म जिल्लामा नेकपा एमालेले ४३, नेपाली कांग्रेसले २८ र नेकपा माओवादी केन्द्रले ११ वडामा ८२ वडाध्यक्षका प्रत्यासी छनोट गर्दा नेकपा एमालेका तर्फबाट मङ्गला गाउँपालिका–४ मा लक्ष्मी बूढाथोकी मगर मात्र वडाध्यक्षमा महिला उम्मेदवार बनेका छन् ।
नेकपा एमाले मङ्गला–४ को वडा कमिटीले उनलाई वडाअध्यक्षको उम्मेदवार बनाएपछि वडाअध्यक्षको उम्मेदवारका लागि जिल्लामा महिला उम्मेदवारको खाता खोलिएको जनाइएको छ । अध्यक्षका उम्मेदवार बूढाथोकी पार्टीको वडा कमिटी उपाध्यक्ष तथा अखिल नेपाल महिला सङ्घ जिल्ला सदस्य हुन् ।
वडाको नेतृत्वमा पुरुषलाई नै अगाडि सार्ने तयारी गरिरहेका बेला बूढाथोकीले उम्मेदवारका लागि इच्छा व्यक्त गरेपछि सर्वसम्मतरुपमा वडाध्यक्षको उम्मेदवार बनाइएको नेकपा एमाले जिल्ला कमिटीका सदस्य एवं मङ्गला–४ का इञ्चार्ज कलाधर कँडेलले जानकारी दिए। रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







