पोखरा २५ मा नेकपा एमालेको ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन


     एभरेस्ट आवाज    
     वैशाख ९ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा २५ हेमजामा नेकपा एमालेको ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको छ ।

आसन्न स्थानिय निर्वाचन २०७९ को अभियान र कम्युनिष्ट पार्टी स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा एमालेको निर्वाचन परिचालन कमिटी गठन र कम्युनिष्ट जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व युवा तथा खेलकुदमन्त्री तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य जगत विश्वकर्माले नजिकिदै गरेको स्थानिय तह निर्वाचनमा हाम्रो पार्टीको विजयी सुनिश्चित गराउनको लागि सबै जना सामूहिक रुपमा दृढ संकल्प गरेर लाग्नुपर्नेमा जोड दिए । “पोखरा वडा नम्वर २५ हेमजामा जुन मिहनेतका साथ हाम्रा अग्रजले विकास गर्नुभयो, त्यो कृतिमान र विरासत कायम राख्नु हामी अहिलेको पुस्ताको मुख्य जिम्मेवारी हो । त्यसैले हामीले हाम्रो पार्टीका प्रस्तावित उम्मेदवार विजयी गराउनु भनेको पार्टीको विजय हो,पार्टीको जित सुनिश्चित गर्नका लागि हामी सबै एकजुट भएर लाग्नुको विकल्प छैन् ।“उनले भने–“हामीले अहिलेको गठबन्धनलाई जसरी पनि परास्त गर्नुपर्छ ।“

कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटीका सदस्य धर्मराज बास्तोलाले आजका मितीदेखि ३० गतेसम्म सबै कार्यकर्तालाई अहोरात्र खटेर आफ्ना मतदाता संरक्षण गर्न निर्देशन दिए । साथै प्रस्तावित ५ जना उम्मेदवारलाई आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह गरे ।

कार्यक्रमका विशेष अतिथि पोखरा महानगर कमिटीका अध्यक्ष दिलिप न्यौपानेले केपी शर्मा ओली अध्यक्ष हुदा विश्वका विकसिल राष्ट्रमध्ये नेपाल १० औं स्थानमा पर्न सफल भएको र नेकपा एमालेले गरेका विकास निर्माणका काम उल्लेख गर्दै देश विकासमा एमाले बाहेक अर्को कुनै पार्टी विकल्पमा नभएको बताए ।

उनले पार्टीभित्रका अवसरवादी तत्वका कारण पार्टी साढे तिन वर्षमा सरकारबाट बाहिरीन परेको बताए । त्यसैले अवको निर्वाचनमा ५ वर्षको लागि एमालेको सरकार सुनिश्चित हुने गरी जिताउन सबैमा अनुरोध गरे । न्यौपानेले गठबन्धन भनेको देश र जनताका लागि नभई आफ्ना मान्छे भर्ति गराउनको लागि भएकोले गठबन्धनलाई मत दिनु पछुताउनुकोे विकल्प नभएको बताए ।
कार्यक्रममा वडाका कम्युनिष्ट पार्टीका प्रेरणाका स्रोत,पार्टीमा अहोरात्र खटिएका, पार्टीमा त्याग गरेका जेष्ठ नागरिकहरु चित्रबहादुर कार्की (९० वर्ष), हरिमाया त्रिपाठी,होमबहादुर थापा, पदमलाल अधिकारी र ठाकुरप्रसाद भण्डारीलाई प्रमुख अतिथि विश्वकर्मा, प्रदेश कमिटी सदस्य धर्मराज बास्तोला, महानगर कमिटी अध्यक्ष दिलिप न्यौपाने लगायतले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।