पहिलो दिन पोखराको मेयरमा ११, उपमेयरमा ४ जनाले दिए उम्मेदवारी

- कांग्रेसका कार्कीले हाले वागी उम्मेदवारी


     एभरेस्ट आवाज    
     वैशाख ११ गते २०७९ मा प्रकाशित




पोखरा, बैशाख ११

पोखरा महानगरपालिकाको मेयर पदमा पहिलो दिन ११ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै उपमेयरमा ४ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन अन्तर्गत निर्धारण गरिएको उम्मेदवारी दर्ताको पहिलो दिन पोखराको मेयर पदमा पाँच वटा दल र ६ जना स्वतन्त्र गरी ११ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

पहिलो दिन सचेत नेपाली पार्टीबाट भोजराज खनाल, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमप्रसाद गुरुङ, नेपाल जनता दलबाट मुक्तिनाथ सुवेदी र राप्रपा नेपालबाट गोविन्द गुरुङले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, मेयरका लागि पहिलो दिन ६ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । पोखराको मेयरका लागि अटेरी उम्मेदवार खड्कराज पौडेल (गनेस)ले उम्मेदवारी दिएका छन् ।

त्यस्तै रामराज अधिकारीलेपनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका पोखरा–३० निवासी अधिकारीको प्रस्तावकमा कृष्णराज तिवारी र समर्थकमा नारायण कँडेल छन् । अर्का स्वतन्त्र उम्मेदवार डिलबहादुर गुरुङले पनि उम्मेदवारी दर्ता गरेका छन् । पोखरा–१५ का गुरुङको प्रस्तावकमा शान्तीदेवी पौडेल आचार्य र समर्थकमा संगीत गुरुङ छन् । मेयरका लागि पोखरा–२८ का नवराज बास्तोलाले पनि उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा ऋषिराम बराल र समर्थकमा अजय विक छन् ।

त्यस्तै, मेयरका लागि किसानसिंह गुरुङलेपनि उम्मेदवारी दिएका छन् । पोखरा–२९ निवासी उनको प्रस्तावकमा मनबहादुर विश्वकर्मा र समर्थकमा पवित्रा विक छन् ।

कांग्रेसका कार्कीले हाले वागी उम्मेदवारी

कांग्रेस कार्यकर्ता विमल कार्कीले मेयर पदमा वागी उम्मेदवारी दिएका छन् । गठबन्धनबाट पोखराको मेयर एकीकृत समाजवादीलाई दिने निर्णय भएपछि उनले वागीका रुपमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । पोखरा–१४ निवासी कार्की नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुन् ।

पहिलो दिन उपमेयरमा ४ जनाको उम्मेदवारी

उम्मेदवारी दर्ता गर्ने पहिलो दिन पोखराको उपमेयरका लागि चार जनाको मात्रै उम्मेदवारी परेको छ । मेयरमा ११ जनाले उम्मेदवारी दर्ता गर्दा उपमेयरमा चार जनाले मात्रै उम्मेदवारी दिएका हुन् । उपमेयरमा सचेत नेपाली पार्टीका सोनी परियार र मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर तामाङले उम्मेदवारी दर्ता गरेका हुन् । उपमेयरका उम्मेदवार परियारको प्रस्तावकमा हरिदत्त पराजुली र समर्थकमा रमेश खवास तथा तामाङको प्रस्तावकमा अमित गुरुङ र समर्थकमा गौरव गुरुङ छन् ।

त्यस्तै, उपमेयरका लागि सोममाया विकले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी छन् । पोखरा–३२ निवासी उनको समर्थकमा मनोज विक र समर्थकमा सरिता विक छन् । यसैगरी, राप्रपा नेपालबाट चिना दवाडीले उम्मेदवारी दिएकी छन् । पोखरा–६ निवासी उनको प्रस्तावकमा दिलमाया मोक्तान र समर्थकमा आकाश खरेल छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।