कास्कीमा कांग्रेसले एक्लै चुनाव लड्ने

- माओवादी, नेकपा एस, जसपा र जनमोर्चाले तालमेल गर्ने


     सन्देश श्रेष्ठ    
     वैशाख १२ गते २०७९ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

कास्कीमा नेपाली कांग्रेसले एकल चुनाव लड्ने भएको छ ।

नेपाली कांग्रेसले पोखरा महानगरपालिकाको प्रमुखबाहेक अन्यमा एकल चुनाव लड्ने भएको हो ।

कांग्रेस कार्यकर्ताले तालमेल गरेर कांग्रेसलाई कमजोर बनाएको भन्दै तालाबन्दी, नाराबाजी, धर्नालगायतका कार्य गरेपछि कास्की कांग्रेसले पोखरा महानगरपालिकाको उपप्रमुखसहित सबै वडा तथा अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, रुपा गाउँपालिका र मादी गाउँपालिकामा एकल चुनाव लड्ने तयारी गरेको हो । पोखराको मेयरमा भने केन्द्रबाटै भागवण्डा भएकाले त्यसमा भने चुनावी तालमेल अनुसारै जाने नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए ।

‘पोखराको मेयरमा माथिकै निर्देशन अनुसार एकीकृत समाजवादीका उम्मेदवारलाई सघाउँछौं । तर कास्कीका अन्य पालिका र पोखराका सबै वडामा हामी हाम्रै उम्मेदवार उठाउँछौं’–उनले भने ।

कांग्रेसले एकल चुनाव लड्ने बताएपछि गठबन्धनका अन्य दलहरु छुट्टै गठबन्धन बनाउने तयारीमा जुटेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच चुनावी तालमेल गर्ने तयारी भएको हो । ‘हामी गठबन्धनकै पक्षमा थियौं तर कांग्रेसले एकल चुनाव लड्ने भनेपछि हामीपनि छुट्टै गठबन्धन बनाएर चुनाव लड्ने तयारीमा छौं’–नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले भने ।

आइतबार अपराह्नसम्म गठबन्धन दलहरुबीच लगभग सहमति भएको हल्ला चलाइएको थियो । कांग्रेसले चार वटा पालिकाको प्रमुख, माओवादी केन्द्रले चार वटा पालिकाको उपप्रमुख, नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुख पाउने गरी सहमति नजिक पुगेको थियो । त्यस्तै पोखरा महानगरमा कांग्रेसले २०, माओवादीले ६, नेकपा एकीकृत समाजवादीले ४, जसपा र जनमोर्चाले १÷१ वटा वडा पाउनेगरी भागवण्डामा कुरा मिलेको थियो । तर साँझमा कांग्रेसले एक्कासी सहमति तोडेको माओवादीको आरोप छ ।

कांग्रेसले सहमति तोडेकाले अब छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरिने नेकपा माओवादी केन्द्रका कास्की ईञ्चार्ज राजकाजी गुरुङले बताए । ‘हाललाई छुट्टाछुट्टै उम्मेदवारी दर्ता गर्छौं, उम्मेदवारी फिर्ताको समयसीमा भित्रमा मिल्यो भने गठबन्धनबाट नत्र माओवादी, नेकपा एस, जसपा र जनमोर्चाबीच तालमेल गरेर चुनाव लड्छौं’–उनले भने ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पोखरा महानगर कमिटी ईञ्चार्ज दीपक कोईरालाले भने कांग्रेसले धोका दिएकाले अब फरक तरिकाले अघि बढ्ने बताए । उनको आसय एमालेसँगपनि तालमेल हुनसक्छ भन्ने हो ।

उम्मेदवारी दर्ताको दोश्रो दिन आज ठूला दलहरुले उम्मेदवारी दर्ता गर्दैछन् । हिजो पहिलो दिन पोखराको मेयरमा ११ जनाले र उपमेयरमा ४ जनाले उम्मेदवारी दर्ता गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।