म्याग्दी । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा निर्माणाधीन मङ्गला इन्द्रेणी पार्क र सङ्ग्रहालय अन्तिम चरणमा पुगेको छ ।
आर्थिक वर्ष २०७५÷०७६ देखि सुरु गरिएको पार्क र सङ्ग्रहालयको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको मङ्गला गाउँपालिकाले जनाएको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन तथा स्थानीयवासीलाई शारीरिक व्यायाम, विश्रामसहित आनन्दको अनुभूति दिलाउने उद्देश्यअनुरुप पार्क र सङ्ग्रहालय निर्माण थालिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए ।
इन्द्रेणी पार्कमा हालसम्म सङ्ग्रहालय भवन, प्रतिक्षालय, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालय, बाथरुमलगायतका भौतिक संरचना निर्माण सम्पन्न भएका छन् । पार्कको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ भने शारीरिक व्यायामका लागि ‘रनिङ स्पट’ पनि तयार भइसकेको छ ।
पार्कलाई हरियाली र आकर्षक बनाउनका लागि खण्डखण्डमा विभिन्न प्रजातिका सुन्दर फूल तथा बाह्रैमास हरियो रहने दुबो पनि सारिएको छ । फूल तथा दुबोलाई हरियाली बनाइ राख्न नियमित रुपमा पानीको ब्यवस्था गरिएको छ । त्यसका लागि बाबियाचौरका स्थानीयवासीले प्रयोग गर्ने मिटरको पानी जडान गरिएको छ ।
मिटरबाट नआएको समयमा म्याग्दी नदीबाटसमेत पानी तान्न सकिने ब्यवस्था मिलाइएको छ । पार्क निर्माणका लागि हालसम्म रु एक करोड ८ लाख ६७ हजार खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिए ।
उनका अनुसार पार्क निमार्णमा गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा रु २५ लाख, २०७६÷०७७ मा रु २५ लाख र २०७७÷७८ मा रु २१ लाख १२ हजार विनियोजन गरेको छ । हरियाली बनाउने काम पनि अझै बाँकी रहेकाले ती सबै पूरा भएपछि मात्रै पार्क सञ्चालनमा ल्याइने जनाइएको छ ।
विशेषगरी पालिकाको केन्द्र बाबियाचौर बजारको आकर्षणका रुपमा मङ्गला पार्क रहनेछ । सङ्ग्रहालय मङ्गलाको संस्कृति र पहिचान झल्किने परम्परागत सामग्री अवलोकन गर्न पाउनु पार्कको अर्को विशेषता रहनेछ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







