मनाङ, । यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि हिमालपारिको जिल्ला मनाङमा मतपत्र ल्याइएको छ । हिमाली जिल्ला मनाङमा हेलिकोप्टरबाट नेपाली सेनाले मतपत्र ढुवानी गरेको हो ।
जिल्लामा नेपाली सेनाले नौ हजार थान मतपत्र ल्याएको बताइएको छ । ती मतपत्र जिल्ला सदरमुकाम चामेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षितरूपमा राखिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । सुरक्षा संवेदनशीलताका आधारमा आयोगले हेलिकोप्टरको प्रयोग गरी मतपत्र जिल्लामा पठाएको जनाएको छ ।
निर्वाचन आयोगले हिमाली र बिकट जिल्लाहरूमा मतपत्र ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरेको छ । निर्वाचनका लागि जिल्लामा २८ वटा मतदानस्थललाई नै मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकृत पुष्पराज शर्माले बताएका छन् ।
जिल्ला अदालतका न्यायाधीश पुनाराम खनाल जिल्लाको मुख्य निर्वाचन अधिकृत हुन् । निष्पक्ष, स्वतन्त्र र भयरहित तरिकाले निर्वाचन सम्पन्न गराइने प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । निर्वाचनमा सहभागी सबैको सुरक्षाको प्रत्याभूति हुने गरी जिल्लामा सुरक्षा योजना बनाएको उनले बताएका छन् ।
जिल्लामा कूल मतदाता छ हजार ४९६ जनामध्ये तीन हजार ३४८ महिला र तीन हजार १४८ पुरुष मतदाता छन् । यस्तै जिल्लामा २१० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेका चार गाउँपालिकामा आइतबार र सोमबार कूल २१० जनाले विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
जिल्लाको ङिस्याङ गाउँपालिकामा ७३, चामे गाउँपालिकामा ४२, नासोँ गाउँपालिकामा ६८, नार्पाभूमि गाउँपालिकामा २७ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए । यस्तै चार गाउँपालिका अध्यक्ष पदका लागि नौ र उपाध्यक्षमा आठ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन कार्यालय मनाङका अनुसार जिल्लामा वडाध्यक्ष पदका लागि ४८, महिला वडा सदस्यमा ४१, दलित सदस्यमा २२ र खुला सदस्यमा ८२ जनाले उम्मेदवारी मनोनयन गराएका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







