पोखरेलीको वर्षौंदेखिको बसपार्क बनाउने सपना साकार पार्छौं : गठबन्धनका उम्मेदवार आचार्य


     एभरेस्ट आवाज    
     वैशाख १५ गते २०७९ मा प्रकाशित




पाँचदलीय गठबन्धनका उम्मेदवार धनराज आचार्यले पोखरेलीको पोखरा बसपार्क बनाउने योजना साकार पार्ने बताएका छन् । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका आचार्यले शनिबार गठबन्धनको तर्फबाट सार्वजनिक गरेको घोषणा पत्रमा दुई वटा बसपार्क बनाउने योजना समावेश छ ।

पोखरा पृथ्वीचोकस्थित बसपार्कलाई सिटी बसपार्क र लेखनाथ क्षेत्रमा प्रदेश स्तरीय बसपार्क बनाउने योजना आचार्यले सुनाए । आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने बताए । त्यसका लागि पूर्वाधार निर्माणदेखि संघ सरकारसँग आग्रह गर्नेसम्मका योजना सुनाए । त्यस्तै उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नका लागि ल्याण्डफिल साईड सारिने बताए । ल्याण्डफिल साइड सार्नका लागि अध्ययन भइसकेकाले अब त्यसमा ढिला नगरी आफू नेतृत्वको पोखरा महानगर बोर्डले निर्णय गरेर कार्यान्वयन गर्ने उनको भनाई छ । उनले ल्याण्डफिल साइड बनाउँदा फोहोरलाई मोहरमा परिणत गर्नेगरी योजना अगाडि बढाइने बताए ।

गठबन्धनको घोषणा पत्रमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै फाष्ट ट्रयाक सडक निर्माण गर्ने अर्को महत्वकांक्षी योजनासमेत अगाडि सारेको छ । अहिले भइरहेको विमानस्थल नजिकैको मुस्ताङचोकदेखि कोत्रेसम्म फाष्ट ट्रयाक निर्माण गरिने उनको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।