बिरुवा गाउँपालिका बनाउन कांग्रेसका अध्यक्ष उम्मेदवारको ८ ‘ब’


     एभरेस्ट आवाज    
     वैशाख १७ गते २०७९ मा प्रकाशित




पोखरा । स्याङ्जाको बिरुवा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार बनेका डोलराज ९डिआर० पोखरेलले आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका छन् । समृद्ध बिरुवा बनाउन उनले आठ ‘ब’ मा आधारित रहेका प्रतिवद्धता पत्र बनाएका हुन् ।

आठ ‘ब’ को साथमा ‘कृषि, पर्यटन, सडक पूर्वाधार, सम्बृद्ध बिरुवा निर्माणको आधार’ र ‘आफ्नो लागि सबैले गर्छन्, अरुका लागि केही गरौं ।’ भन्ने नारा पनि अघि सारेका छन् ।

उनले प्रतिवद्धता जनाएका आठ ‘ब’ हरुमा बाह्रै महिना चल्ने सडक, ब्यावसायमा युवा, बौद्धिक विकाश र विशिष्ट व्यावहार, उत्पादनमा वृद्धि रहेका छन् । यस्तै व्यावसायिक शिक्षा, वन र वातावरण, बहस र पैरवी, बगैंचा अभियानलाई प्रतिवद्धतामा समेटेका छन् । आफूले बिरुवा गाउँपालिकाको निर्वाचन जितेमा सबैभन्दा पहिला आफुले बाचा गरेका प्रतिवद्धता पुरा गर्ने उनको भनाई थियो ।

बिरुवाबासीको चहाना र इच्छा अनुुसारका विकाश निर्माणका कामलाई पनि प्राथमिकतामा राखेर अघि बढ्ने उनले बताए । बिरुवा गाउँपालिकामा गठबन्धनको चुनावी तालमेल रहेको छ । जसअनुसार अध्यक्षमा कांग्रेसबाट पोखरेल र उपाध्यक्षमा माओवादी केन्द्रका थमन गुरुङ चुनावी तालमेलमा रहेका छन् ।

यसअघि २०७४ मा भएको निर्वाचनमा नेकपा एमालेका चुनप्रसाद शर्माले अध्यक्षमा निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका चौबहादुर गुरुङलाई १ हजार ५३ मतले पराजित गरेका थिए । शर्माले ४ हजार ४ सय ३ मत ल्याउँदा गुरुङले ३ हजार ३ सय ५० मत ल्याए । अध्यक्षका उम्मेदवार पोखरेलले यसअघिको हारलाई मल्हम लगाउने गरी आफूहरु तयारीमा लागेको उनले बताए ।

अघिल्लो पटक नेकपा एमालेले जित्दा जनताको मन जित्ने काम नगरेकाले बिरुवाबासीहरु विकल्पको खोजीमा रहेको उनको भनाई थियो । जनताको विकल्प नेपाली कांग्रेस भएकाले आफुले अध्यक्ष जित्नेमा पोखरेल विश्वस्त छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।