पोखराका उम्मेदवारहरुले एउटै मञ्चबाट जनाए प्रतिबद्धता


     एभरेस्ट आवाज    
     वैशाख १९ गते २०७९ मा प्रकाशित




पोखराका उम्मेदवारहरुले आफू विजयी भएमा समृद्ध पोखरा निर्माणका लागि कार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

आइतबार पोखरा -२४ कास्कीकोटका युवाहरूको सामाजिक संस्था हाम्रो कास्कीकोट युवा संजालले  आयोजना गरेको ‘मेरो उम्मेदवारी, योजना तथा प्रतिबद्धता’ विषयक प्रस्तुतिकरण कार्यक्रम मार्फत उम्मेदवारहरुले आफ्ना प्रतिबद्धता व्यक्त गरेका हुन्।

स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका तथा २४ नम्बर वडाको  प्रमुख पदमा उम्मेदवारी दिएका व्यक्तिहरुको प्रस्तुतिकरण समेटिएको उक्त कार्यक्रममा अधिकांश उम्मेदवारले पोखराको शिक्षालाई गुणस्तरीय बनाउने, स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने, कृषिलाई व्यवसायीकीकरण गर्ने, पर्यटन प्रवर्द्धनमा जोड दिने, रोजगारी सृजना गर्ने, सडक, खानेपानी आदिका पुर्वाधार विकासमा जोड दिने योजना प्रस्तुत गरेका थिए।

कार्यक्रममा पोखरा महानगरपालिकाको मेयर पदका प्रत्यासीहरु एमालेको तर्फबाट कृष्णबहादुर थापा, सत्तागठबन्धन दलको समर्थनमा नेकपा एकीकृत समाजवादीका तर्फबाट धनराज आचार्य, राप्रपाका शंकर खराल, नेकपा माओवादी समाजवादीका भोजराज त्रिपाठी, मौलिक जरोकिलो पार्टीका संजय तिमिल्सिना र अटेरी समूहबाट स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस)ले  पोखराको विकास गर्ने प्रतिबद्धता जनाएका हुन्।

त्यसैगरी, २४ नम्बर वडाको वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका एमालेको तर्फबाट रामचन्द्र थापा, नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादीको समर्थन प्राप्त काङ्ग्रेसका भरत बहादुर अधिकारी र राप्रपाका नवीन बस्ताकोटीले पनि आफ्नो उम्मेदवारी, योजना तथा प्रतिबद्धता बारे प्रस्तुति राखेका थिए।

निर्वाचनमा स्वच्छ प्रतिस्पर्धाका माध्यमबाट सबैभन्दा असल, सक्षम र जिम्मेवार उम्मेदवारको पहिचान गरी निर्वाचित बनाउन आम मतदातालाई सघाउ पुर्याउन कार्यक्रमले सघाउने विश्वास युवा संजालको रहेको छ।

वर्तमान वडाध्यक्ष अाेम सुबेदिले सबै उमेदवारलाई कास्कीकाेटकाे बिकासमा प्रतिबद्धता जनाउन र जितपछि कार्यान्वयन मा ल्याउन अाग्रह गर्दै  शुभकामना दिएका थिए।

गौरव त्रिपाठीको संयोजन तथा सञ्जालका संयोजक शालिकराम गिरीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको सुरुवात सञ्जालका सचिव अर्जुनबहादुर अधिकारीले गरेका थिए। उम्मेदवारको प्रस्तुतीकरण कार्यक्रम पत्रकार केशवशरण लामिछानेले सञ्चालन गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।