के भन्छन्, पोखरा–२ का वडाध्यक्ष उम्मेदवारहरु

- लोकल इलेक्सन


     एभरेस्ट आवाज    
     वैशाख २० गते २०७९ मा प्रकाशित




आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन काउन्ट डाउनको हिसावले अब १० दिन मात्रै बाँकी छ।

राजनीतिक दलका उम्मेदवारहरु जनताका घरदैलोमा भोट माग्न व्यस्त छन्। जनतासम्म पुग्दा उम्मेदवारहरुले आफ्नो क्षेत्रको समस्यासहित आफ्ना राजनीतिक एवं विकास निर्माणका एजेण्डाहरुको प्रतिबद्धता जनाएका छन्।

देशकै ठूलो महानगर पोखरा महानगर क्षेत्रमा पनि स्थानीय चुनावले छोएको छ। चुनावका लागि खडा भएका उम्मेदवारहरु जनताको घरदैलोको प्रचार प्रसार अभियानलाई तिब्र बनाइ रहेका छन्। पोखराको–२ ऐतिहासिक, धार्मिक पुरातात्विक, सांस्कृतिक र राजनीतिक हिसावले महत्वपूर्ण मानिन्छ। यस वडाको प्रतिनिधित्व धेरै उम्मेदवारहरु खडा भएपनि मुख्य गरी नेपाली काँग्रेस र नेकपा एमालेबीच नै कडा प्रतिस्पर्धा हुनेछ।

प्रमुख २ छुट्टाछुट्टै राजनीतिक पार्टीबाट उम्मेदवार बनेका प्रत्यासीहरु आ–आफ्नै जीत हुने सुनिश्चितता व्यक्त गर्दछन्। यस वडाबाट नेपाली काँग्रेसबाट दिवसमान प्रधानाङ्ग र नेकपा एमालेको तर्फबाट दीपक शाह प्रत्यासी छन्।

एभरेस्ट एफएम ९३ मेघाहर्जको ‘लोकल इलेक्सन’ कार्यक्रममा मंगलबार बिहान बोल्दै दुबै उम्मेदवारहरुले आ–आफ्नो जित सुनिश्चित रहेको बताउाछन्।

यसअघिको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले जितेको वडा नं २ मा काँग्रेसकै जित सुनिश्चित रहेको काँग्रेस उम्मेदवार प्रधानाङ्ग दावी गर्छन। गत निर्वाचनमा भन्दा यस पटक करिब २ सय भोटको अग्रताले वडामा नेपाली काँग्रेसको जित शुनिश्चत रहेको प्रधानाङ्गको दाबी छ।

एमालेका उम्मेदवार शाह भने यस पटक वडामा आफ्नो पार्टीको जित सुनिश्चित रहेको दाबी गर्छन्। गत चुनावबाट निर्वाचित प्रतिनिधिहरुले वडामा विकास निर्माणका राम्रो काम गर्न नसकेकै कारण यसपाली आफ्नो पार्टीको जित सुनिश्चित रहेको शाहको दाबी छ। शाह भन्छन्, ‘उहाँहरु टेस्टेड भइसक्नु भयो, अब पालो हाम्रो हो।’

महानगरको वडा नं २ मा ऐतिहासिक विन्यावासिनी मन्दिर, मिरुवा क्षेत्र, भैरव मन्दिर, भिमसेन मन्दिर, गणेश टोल, नेवारी साँस्कृतिक परम्परा लगायतका ऐतिहासिक परम्परा र पोखराकै पुरानो बजार यहीँ छ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक वडा भएर पनि अझै पनि शिक्षा, खानेपानी, पार्किङ, विन्ध्यवासिनी क्षेत्रलगायत सौचालयको व्यवस्थापन, पोखरा बागलुङ राजमार्गको ट्राफिक व्यवस्थापन यहाँको साझा समस्या हो।

सिंगो वडालाई सफा, सुन्दर बनाउनुपर्नेछ। विन्ध्यवासिनी धार्मिक क्षेत्र एवं सार्वजनिक सौचालयको व्यवस्थापन गर्नुपर्नेछ। मिरुवाको खानेपानी समस्याको पूर्ण रुपमा समाधान गर्नुपर्नेछ। बागलुङ बसपार्कलाई व्यवस्थित बनाउनुपर्नेछ। बसपार्कभित्र हुने गरेका विकृति र विसंगतिलाई हटाएर व्यवस्थिति बसपार्क बनाउनुपर्नेछ। बरपाटन सामुदायिक विद्यालयलाई पूर्वाधार सहितको गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेछ।

वडाभित्रका समस्याहरुलाई समाधान गर्ने दुबै प्रत्यासीको प्रतिबद्धता थियो।

प्रधानाङ्गले गुरुयोजना सहित विन्ध्यवासिनी मन्दिरलाइ वृहत् धार्मिक बिकास कोषका रुपमा अगाडि बढाउने बताए। मिरुवा लगायतका क्षेत्रको अधुरो खानेपानी योजनालाई पूरा गर्ने प्रधानाङ्गको प्रतिबद्धता छ। बागलुङ बसपार्क र राजमार्गमा हुने दुर्घटना न्यूनिकरणका लागि ट्राफिक व्यवस्थापन र सीसी क्यामेरा जडान आफ्नो प्राथमिकतामा रहेको प्रधानाङले प्रतिबद्धता जनाए।

समग्र वडा नं २ को विकास र निर्माणका लागि केन्द्र सरकारदेखि महानगरसम्मको ढोका ढकढक्याउने प्रधानाङ्गले प्रतिबद्धता जनाए।

आफूले जिते विन्ध्यवासिनी मन्दिर लगायत यहाँको पुराना मन्दिर र देवलहरुको संरक्षण र प्रबद्र्धनमा जोड दिने प्रतिबद्धता जनाए। त्यस्तै, मास्टर प्लानसहितको आधुनिक सुविधासम्पन्न सौचालयको निर्माणसहित बागलुङ बसपार्कलाई व्यवस्थित गर्ने शाहले प्रतिबद्धता जनाए। केन्द्र र महानगर सहितको योजना ल्याउने उनको प्रतिबद्धता थियो। त्यस्तै, यहाँको शिक्षा क्षेत्र र पुरानो बजारको सरसफाईमा आफूले ध्यान दिने उनको प्रतिबद्धता थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।