पोखरा । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्कीले पोखरा महानगरपालिकामा विशेष चुनावी आमसभा गर्ने भएको छ ।
पार्टीले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि आमसभाको बारेमा जानकारी दिएको हो । बैशाख २४ गते शनिबार पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा बिहान ११ बजेदेखि आमसभा शुरु हुने पार्टीले जनाएको छ ।
चुनावी आमसभालाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहित आमसभामा पार्टीका शीर्षस्थ नेताहरुको पनि सहभागिता रहने राप्रपा गण्डकी प्रदेशका अध्यक्ष पञ्चराम गुरुङले जानकारी दिए । ‘हाम्रो पार्टीले चुनावमा उठाएका उम्मेदवारहरुको पक्षमा माहौल बनाउनुसँगै कास्की जिल्लाका मतदाताहरुसमक्ष पार्टीको आधिकारिक धारणा पनि नेतृत्व तहबाटै हामीले सो आमसभामार्फत जानकारी दिनेछौँ ।’ राप्रपा गण्डकीका अध्यक्ष गुरुङले भने ।
राप्रपाले पोखरा महानगरपालिकाको मेयरमा शंकर खराल र उपमेयरमा रञ्जना सेन पौडेललाई प्रत्यासीको रुपमा चुनावमा उठाएको छ । उनीहरुसँगै पोखरा महानगरको ३२ वटा वडामा कुल १ सय ३२ जनालाई उम्मेदवार बनाएको राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले जानकारी दिए ।
कास्कीको हकमा अन्नपूर्ण, मादी, माछापुच्छ्रे र रुपा गाउँपालिका गरि जिल्लाभर १ सय ८१ जना उम्मेदवारलाई राप्रपाले चुनावी मैदानमा अगाडि सारेको छ । पार्टीले दिएको जानकारी अनुसार कास्कीमा ४९ प्रतिशत उम्मेदवारहरु चुनावी मैदानमा छ । अघिल्लो चुनावको तुलनामा यो पटक पार्टीको उम्मेदवार संख्या बढेको पनि राप्रपा कास्कीले बताएको छ ।
शनिबार हुने चुनावी आमसभामा कास्कीजिल्ला भरिका मतदाता र जनताहरुको बाक्लो उपस्थिती गराउने राप्रपाले जनाएको छ । ३ हजार भन्दा बढिको संख्यामा मानिसहरुको उपस्थिती चुनावी आमसभामा गराउने गरि तयारी भैरहेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए । ‘पछिल्लो पटक पार्टीप्रति जनताहरुको आकर्षण बढेको कुरा आमसभामा हुने जनताको उपस्थितीले पुष्टी गर्नेछ ।’ गिरीले भने–‘पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको सम्बोधन सुन्नका लागि स्वतस्फूर्त रुपमा जनताहरुको उपस्थिती हुने कुरामा हामी विश्वस्त छौँ ।’
पत्रकार सम्मेलनमा मेयर पदका उम्मेदवार शंकर खराल, उपमेयरका उम्मेदवार रञ्जना सेन पौडेलसँगै पार्टीका केन्द्रीयस्तरका नेताहरुको उपस्थिती रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





