स्मृतिमा सूर्यबहादुर केसी(सन्दर्भ: १३औं दिनको पुण्य तिथि)

- प्रधानपञ्चदेखि सभासद्/सांसद र सफल उद्योगपति सम्मको यात्रा


     जमुना वर्षा शर्मा ,पोखरा    
     कार्तिक २९ गते २०७७ मा प्रकाशित




सूर्यबहादुर केसी । नाम जस्तै कुनै एक क्षेत्रमा मात्र नभई विविध क्षेत्रमा उस्तै उज्यालो प्रकाश दिन सक्ने एक क्षमतावान् व्यक्तिका रुपमा परिचित नाम हो ।सूर्यबहादुर अर्थात सिताराम केसी भन्ने बित्तिकै सम्झनामा आउने भनेको रारा चाउचाउका उत्पादक, पोखरा नगर पन्चायतको प्रधान पन्च, प्रतिनिधि सभाका सभासद्, प्रतिनिधि सभाका सांसद, हाइड्रोका अभियन्ता,माछापुच्छ्रे बैंकका प्रोमोटर ,बिकासप्रेमि, अनि दानबीर समाजसेवि आदि आदि….। हर कुनै कठिन र असहज अवस्थामा पनि सहजताको बाटो पहिल्याएर आफूलाई निरन्तर हिडाउन सफल बहुआयामिक व्यत्तित्वको रुपमा आज धेरैले सूर्यबहादुर केसीलाई स्मरण गरिरहेका छन् । राजनीति, उद्योग र समाजसेवा सबै पक्षलाई समानान्तर रुपमा डोर्याएर सफलता हासिल गर्न सक्ने उनै चम्किरहेका सूर्यको २०७७ साल कात्तिक १७ गते सोमबार ६५ वर्षको उमेरमा देहावसान भयो ।अर्थात पोखरामा चम्किरहेको एउटा उज्यालो दीप अस्तायो ।
पृष्ठभुमि : केसीको पृष्ठभुमि केलाउँदा उनका पिता किर्तिबहादुर केसीबाट व्यवसायको क्षेत्रमा प्रवेश गरेका हुन् । कीर्तिबहादुर केसी जो भारतमा कामको सिलसिलामा थिए । उनी पोखरा फर्किएपछि निर्माण व्यसायमा संलग्न भए । स्याङ्जा, पोखराको बाटो निर्माणदेखि फेवातालको बाँध निर्माण, सिचांई ,भवन निर्माण लगायत जिम्मा उनले लिएका थिए । यसैको प्रभाव र अनुभव केसीलाई पनि बटुल्ने अवसर मिल्यो। उनलाई व्यवसायीक क्षेत्रमा प्रवेश हुने बाटो खुल्यो । केसीले २०३० सालमा केसी कन्स्ट्रक्सन नामाकरण गरेर निर्माण व्यवसायको यात्रालाई थप गति प्रदान गर्न सफल भए ।
यद्यपि पोखराको औद्योगिक क्षेत्रमा उनलाई चिनाउन सफल चाउचाउ ‘रारा’ नै हो । जुन वि.सं. २०३३ असारमा सिन्के चाउचाउमा साझेदारी गर्दै २०३९ सालमा तयारी रारा चाउचाउ उत्पादन शुरु भएको थियो । गण्डकी नूडल्समार्फत सिन्के चाउचाउ उत्पादन गरेका व्यवसायी फणिन्द्रमान श्रेष्ठ, कृष्ण आचार्य समुहसँगको साझेदारीमा गण्डकी नूडल्सबाट रारा चाउचाउ उत्पादन भएको हो । उक्त चाउचाउ कम्पनीमा ३० जना बढीको सेयर रहेकोमा २०५८ सालसम्म आइपुग्दा अरु साझेदारहरु बाहिरिए । यसरी सुरु भएको चाउचाउ उद्योगमा अहिले १ अर्ब रुपैयाँभन्दा बढि लगानी छ । त्यसपछि हिमश्री फुड्स मार्फत रारा र आहा चाउचाउ उत्पादन हुन थाल्यो । केसीले चाउचाउ उद्योगसँगै जलविद्युत्, निर्माण व्यवसाय, हाउजिङ्ग, बैंक, हस्पिटालिटी क्षेत्रलाई पनि स्थापित गराए । योसँग केसी ग्रुपको हिमालयन गल्फ कोर्स, केसी हाउजिङ्ग, नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट, नेपाल इन्जिनियरिङ्ग कलेज, कालिका मल्टिपर्पोज कलेजमा लगानी रहेको छ । राष्ट्रिय स्तरको बाणिज्य बैंक माछापुच्छे बैंक स्थापनासँगै केसी ग्रुपको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा पनि लगानी रहेको छ । उनी खेलप्रेमी पनि थिए । २०५८ सालदेखि निरन्तर सञ्चालित हुँदै आएको आहा रारा गोल्ड कप प्रतियोगिताको मुख्य प्रायोजनमा उनले गरेको लगानीले पनि यसलाई प्रस्ट पार्दछ ।
राजनीतिमा केसी :
सुर्यबहादुर केसीको २०४१ सालबाट राजनीतिमा सक्रिय भएका हुन् । उनका निकटतमहरुका अनुसार तत्कालिन समयमा उत्तम पुन प्रधानपञ्च थिए । पुनका गतिविधिबाट केसी असन्तुष्ट थिए । २०४१ सालमा पुन विरुद्ध अविश्वासको प्रस्ताव आयो उनी वर्खास्त भए । मध्यावधी चुनाव हुने भयो । केसीले उम्मेदवारी दिए । पुन विरुद्धको जनमत पनि केसीलाई प्राप्त भयो उनी २७ वर्षकै उमेरमा नगरपञ्चायतको प्रधानपञ्च बने । २०४१ देखि २०४३ सम्म कार्यकाल पछि पुनः दोस्रो पल्ट पनि केसी प्रधानपञ्चमा विजयी भए । केसीले लामो समय राजाबादीहरुको पार्टी मानिने रा.प्र.पा.मा बसेर राजनीति गरे तर जीवनको उत्तरार्धको समयमा भने उनले राजनीतिक विचारधारा परिवर्तन गरेर लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । पहिलो संविधान सभाको सदस्य बनेका केसी २०७४ को निर्वाचन पश्चात राप्रपा पार्टी परित्याग गरी नेपाली काँग्रेसको आमन्त्रीत केन्द्रीय सदस्य हुँदै सोही पार्टीको समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका हुन् । केसीले सनातन हिन्दु धर्मको पक्षमा आफ्ना अभिव्यक्ति दिदै आएका थिए । केसीका बालसखाहरु उनलाई सिताराम केसी भनेर बोलाउने र चिन्ने गर्थे ।
सहकर्मीको नजरमा सूर्यबहादुर केसी:
कृष्णराज आचार्य(उद्यमी/संस्थापक प्रबन्ध निर्देशक गण्डकी नुडल्स प्रालि (रारा चाउचाउ):
सूर्यबहादुर केसी मेरो बाल्यकालदेखिकै मित्र हो । मेरो बुबा र उहाँको बुबा साथी हुनुहुन्थ्यो । उहाँहरुसँगै कलकत्तामा पनि बस्नुभयो । हाम्रो पारिवारिक सम्बन्ध थियो । तत्कालिन समयमा म र फणिन्द्रमान श्रेष्ठले सिन्के चाउचाउ उत्पादन गथ्र्यौं । यहि बिच केसी र सुशिल गोशली भएर चाउचाउमा साझेदारी गर्ने तयारी भयो । त्यतिबेला डलरको भाउ ९ रुँपैया थियो पछि १२ पुग्यो । मूल्य बढेकाले अरु साझेदार पनि खोजेर उद्योगलाई वृहत बनाउन तर्फ लाग्यौं । भूपु सैनिकहरुले विदेशमा तयारी चाउचाउ खाएको अनुभव सुनाउने गर्नुहुन्थ्यो । हामीले पनि त्यस्तै चाउचाउ तयार गर्ने सोच बनायौं । पछिल्लो समय केसीसँगै मेजर पूर्णबहादुर गुरुङ लगायतका थु्प्रै साझेदारहरुबाट आधुनिक प्रविधिको प्रयोग सहित वृहत उद्योगको रुपमा चाउचाउ उद्योग खोल्ने तयारीमा लाग्यौं । जापानबाट आएको मेशिन भारतको कलकत्तामा रोकियो । पछि केही लगानीकर्ताले अन्योल भएको भन्दै पैसा फिर्ता लैजानु भयो । अनि हामी थोरै भयौं ।मेशिन आयो । २०३९ साल माघ २३ गते पहिलो पल्ट गण्डकी नुडल्स प्रा.लि. बाट आधुनिक प्रविधिको प्रयोगमा रारा चाउचाउको उत्पादन भयो । दक्षिण एसियामै आधुनिक प्रविधिको प्रयोगबाट तयार भएको पहिलो तयारी चाउचाउ थियो रारा चाउचाउ । समयक्रम सँगै केही साथीहरु कम्पनीमा रहे, केहि निस्किए । पछि हिमश्री फुड्सबाट रारा र आहा चाउचाउ उत्पादन भइरहेको छ ।
केसी मिलनसार, आँटिलो, सोचेको कुरा पुरा गर्ने निकै तिक्ष्ण दिमाग भएको हुनुहुथ्यो । हिसाब किताब भनेको उहाँकै दिमाग हुन्थ्यो । अरुले नोट कपि पल्टाउन पथ्र्यो तर उहाँले कसलाई कति दिने कति लिने एक एक सम्झन सक्नुहुन्थ्यो । राजनीतिमा पनि उत्तिकै सक्रिय उहाँलाई धेरैको साथ र समर्थन मिल्यो । सबैलाई आफ्नो बनाउन सक्ने विशेष खुबी उहाँमा थियो । उहाँको निधनमा श्रद्धाञ्जली दिन जान सकिन म आफै आइसोलेशन थिए । उहाँलाई गुमाउनु पर्दा नरमाइलो लागेको छ ।
तीर्थ श्रेष्ठ(समाजसेवी/सचिव विन्ध्यवासिनी क्षेत्र विकास समिति)
सूर्य बहादुर केसी तत्कालिन समयमा नगरपञ्चायतको प्रधानपञ्च हुँदा म उपप्रधानपञ्च थिए । तत्कालिन प्रधानपञ्च उत्तम पुन माथि अविश्वासको प्रस्ताव भएपछि पुन वर्खास्त भए र केसीले उत्तम पुनको खिलाफमा प्रधानपञ्चमा उम्मेदवारी प्रस्तुत गर्नुभयो र निर्वाचित हुनुभयो । २०४३ सालमा पदावधि समाप्त भएपछि पुनः नेपाली काँग्रेसको तर्फबाट अग्रज पत्रकार केशवराज पराजुली र मैले उम्मेदवारी दियौँ । पञ्चहरुको संस्थापन पक्षबाट सूर्यबहादुर केसी र तत्कालीन मालेको तर्फबाट काजिमान गुरुङले प्रधानपञ्च र प्रभा कोइरालाले उप प्रधानपञ्च उम्मेदवारी दिएका थिए ।
पछि प्रधानपञ्चमा केसी र उपप्रधानपञ्चमा म निर्वाचित भयौं । जितसँगै विकास निर्माण लगायतका विषयमा मैले उहाँलाई सघाउने प्रतिवद्धता गरेँ, र उहाँले पनि सँगसँगै साथमा लिएर अघि बढ्ने उद्घोष गर्नुभयो । कार्यकाल भरी निकै सौहार्दता पूर्ण वातावरण भयो । म त्यतिबेला २८ वर्ष उहाँ ३० वर्षको हुनुहुन्थ्यो । वैचारिक आस्था फरक फरक भए पनि विकास निर्माणका सवालमा सँगसँगै थियौँ ।
उहाँको सबैसँग विनम्रतापूर्वक प्रस्तुत हुने, तिक्ष्ण बुद्धि, सबैको सुझाव ग्रहण गर्ने, पोखराको विकास प्रति प्रतिवद्ध हुने विशेषताको म प्रसंशक हुँ । उहाँसँगको एउटा पल आज पनि म सम्झन्छु, २०४६ सालको जनआन्दोलनमा धेरै मानिस विचलित थिए, के गर्ने कसो गर्ने ?भनेर । म पनि जनआन्दोलनमा कसरी सहभागी हुने भन्ने सोचिरहेको थिएं । बहुदलिय शासन व्यवस्था भन्दा तलको कुराले राजनीतिक संकट समाधान हुँदैन भनेर मैले उहाँलाई बहुदलका पक्षमा खुटटा कमाउन नहुने कुरा राखेँ । लगत्तै नगर पञ्चायतकाको एउटा बैठक राख्यौं । उहाँकै निवासमा र एउटा महत्वपूर्ण निर्णय गर्यौ । मलाई याद छ त्यतिबेला “श्री ५ महाराजाधिराज सराकारबाट वर्तमान राजनीतिक संकट समाधानका निम्ति बहुदलिय व्यवस्था बक्स भएमा पोखरा नगर पञ्चायत यो बैठकबाट शिरोधार्य गर्दै मौसुफ सरकारका जुनाफमा विन्ती गर्ने” भनेर निर्णय गर्यौ । जुन बेला नेपाल सरकारका प्रधान अधिकृतले पनि यसलाई माइन्यूट गर्न मानेका थिएनन् । मेरो हस्ताक्षरमा उक्त माइन्यूट गरियो । आस्था फरक भएपनि प्रजातन्त्रको पक्षमा हामीले गरेको सो निर्णय ऐतिहासिक थियो ।
व्यवसायको सन्दर्भमा बुबा किर्तिबहादुर केसी निर्माण व्यवसायी हुनुहुन्थ्यो, तत्कालिन समा बयलगाडा(गोरु गाडा)मा माल सामान ढुवानी हुन्थ्यो । पोखरामा गोरुगाडा ल्याउने काम पनि उहाँबाटै भयो । बुबाको विरासतको रुपमा व्यवसायलाई उहाँले धान्नुभयो ।
केसीले एकचोटी मलाई भन्नुभएको थियो , “नेपाल सरकारले कास्की जिल्लालाई लोडसेटिङ मुक्त बनाउन आग्रह गर्यो भने म दुई वर्षमा लोडसेटिङ मुक्त गर्न सक्छु ।” हाइड्रो पावरमा लगानी रहेकाले पनि त्यो आत्मविश्वास उहाँमा थियो ।
विन्ध्यवासिनीमा मन्दिरमा पनि उहाँको सहयोग अतुलनिय रह्यो । अलग अलग विचारधारामा भएपनी कालान्तरमा उहाँ काँग्रेमै प्रवेश गर्नुभयो । उहाँसँग निकै घनिष्ट भएर विताएका हरेक पल स्मरणीय छन् ।
आनन्दराज मुल्मी(सुशासन अभियन्ता तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष):
सूर्यबहादुर केसीलाई म सिताराम केसी भनेर सम्बोधन गर्न रुचाउँछु । उनी एक कर्मठ मेहनती कुनै पनि अवसर आफ्नो हातबाट फुत्कन नदिने निकै चलाख दिमाखको व्यत्तिको रुपमा मैले लिन्छु । कुनै पनि अवसरलाई आफ्नो हातबाट गुम्न नदिने र तत्काल निर्णय गरिहाल्ने आँटिलो मान्छे हुन् केसी । नयाँ काम प्रति संलग्न हुनु उनको रुचि थियो । पोखरामा आधुनिक चाउचाउ उद्योग सञ्चालन गरेर व्यवसायमा पनि आफूलाई सफल सावित गरे । उनमा एकै समयमा धेरै कुरा सोच्न सक्ने क्षमता थियो ।
केसीले तत्कालिन समयमा उत्तम पुन विरुद्ध अभियान थाले, प्रधानपञ्चमा उम्मेदवारी प्रस्तुत गरेर जिते, त्यस पछि उनको राजनीतिमा प्रवेश भयो । तत्कालिन समयमा राष्ट्रिय प्रजातन्त्र पार्टिमा सक्रिय रहेर राजनीतिक छवि बनाएका केसीले सशस्त्र द्वन्द्वको समय २०५६÷५७ सालको समयमा पनि अनेक धम्किपूर्ण चेतावनी खप्नु परेको थियो । विविध कठिनाई सँग जुध्दै आक्रामक रुपमा राप्रपाको राजनीतिमा सक्रिय केसी पहिलो संविधान सभाको सदस्य बने र पछिल्लो कालखण्डमा राप्रपा पार्टि परित्याग गरेर नेका काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य बनेर प्रतिनिधि सभा सदस्य बनेका हुन् ।
कृष्ण थापा(नेकपा कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य):
म २०५४ मेयर हुँदा सूर्यबहादुर केसी परिषद् सभाको अध्यक्ष हुनु हुन्थ्यो । उहाँसँगको पल स्मरण गर्नुपर्दा २०४६ सालको आन्दोलनमा सिडियो कार्यलयमा आगलागी भयो । सिडियो कार्यलय घेरा गर्न पुगेका दुई जना झपिन्द्र कार्की र ऋषि परियार गोलि लागेर मारिए । केसी निर्वतमान प्रधानपञ्च भएकाले पञ्चको हात छ भनेर उहाँको घर घेराऊ गर्न खोजिएको थियो तर मैले त्यसलाई रोकेँ ।
उहाँ एउटा सामाजिक र सफल व्यवसायिक व्यक्तित्व हो । सहयोगी भावना भएको र अरुलाई सहयोग गर्न सधै तत्पर हुने । उहाँको मृत्युको पाँचदिन अगाडि मात्र फोनमा कुरा भएको थियो । उहाँलाई पछिल्लो समय राजनीति प्रति वितृष्णा जागिरहेको थियो । विकास निर्माण र राजनीतिक विषयमा गफ हुन्थे । उहाँ नातेदार पनि पर्नुभएकाले उहाँसँग भेटघाट भइरहन्थ्यो । समाज परिवर्तनमा राजनीतिसँगै उद्यमशिलताको अपरिहार्यतालाई उहाँले बुझ्नु भएको थियो । विभिन्न क्षेत्रमा लगानी गरेर सफल व्यवसायिक छवि पनि बनाउन सफल हुनुभएको थियो । विचार र आस्था जताभएपनि देश विकासको बारेमा सोचिरहने असल मन भएको एक व्यत्तित्वको रुपमा म सदा स्मरण गर्दछु ।
हरि पाण्डे (पूर्व राज्यमन्त्री एवम् उद्योगपति):
सुर्यबहादुर केसी मेरा अभिन्न मित्र हुन् । नेपालकै वरिष्ठ र सफल उद्योगपतिसँगै सामाजिक व्यत्तित्वको रुपमा उनको छवी उच्च छ । अनुकुलता अनुसार राजनीतिमा सक्रिय भएपनि समग्रमा देशको चिन्ता गर्ने र विकास मनपराउने राष्ट्रवादी मान्छे हुन् केसी । उद्योगको क्षेत्रमा दुरदर्शिता सहित धेरैलाई रोजगार दिन सफल भए । असाध्यै तिखो दिमाग, विषयलाई छिटो बुझ्न र छिटो निर्णय लिन सक्ने, हिम्मतिलो ठूला ठूला निर्णय लिन सक्ने आँट उनमा थियो । उनको निधनले मलाई निकै मर्माहत बनाएको छ । उनले अझै धेरै सपनाहरु बुनिरहेका सानो तिनो कुराले हार मान्ने पछि हट्ने उनको स्वभाव थिएन । आफुले देखेको सपना जसरी पनि पूरा गर्न हठि स्वाभावको उनको विशेषता हो ।
अशोक पालिखे (अध्यक्ष : नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज पोखरा):
मैले सूर्यबहादुर केसीलाई विकासप्रति दृष्टि लगाउने र नयाँ नयाँ सोच बोक्ने व्यक्तिको रुपमा पाएँ । २०४१ सालमा नगर पञ्चायतमा प्रधानपञ्च हुँदाखेरी मैले चिनेको हुँ । पोखरालाई विकास गर्न लागि पर्ने विभिन्न क्षेत्रबाट पहल गर्ने एउटा दुरदर्शिता उनमा थियो । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज पोखरा स्थापना गर्ने संस्थापक मध्येका उनी एक थिए । त्यसैगरी नेपाल इन्जिनियरीङ कलेज , नेपाल मेडिकल कलेज स्थापनामा पनि उनको योगदान रहेको छ । नेपालमा पहिलो चाउचाउ पनि उनको सक्रियतामा आयो । समृद्धिकालागि उद्यमशिलताको विकासमा जोड दिने हाइड्रो, वित्तिय, स्वास्थ्य, शिक्षा, लगायतका विविध क्षेत्रमा उनको लगानीले नै उनले सामाजिक परिवर्तनमा उद्योग व्यवसाय लगायतका पक्षमा जोड दिएर विकासको परिकल्पना गरेको पाइन्छ । मैले उनको व्यत्तित्वलाई एउटा निडर, निर्भिक र दुरदर्शिताको रुपमा लिन्छु । उनको विशेष गुणहरु उनका सन्तानले पनि पछ्याउने छन् भन्ने आशा लिएको छु ।

गणेशबहादुर श्रेष्ठ (अध्यक्ष,लक्ष्मी ग्रुप):
पोखराको उद्योगी व्यवसायीको रुपमा म केसीलाई २०३३ सालदेखि चिन्छु । तत्कानिल समयमा पोखरामा औद्योगिक वातावरण गराउन उहाँको ठूलो योगदान छ । उद्योग के हो भनेर कतिलाई थाहा नै नहुँदा उहाँले उद्योग स्थापना गर्नुभएको थियो । आधुनिक नुडल्समा उहाँको प्रयासले सफलता पायो । उहाँ व्यवसायी मात्र नभई सामाजिक, राजनीतिक, धार्मिक क्षेत्रमा पनि उस्तै सक्रियता थियो । धेरै ठाउँमा उहाँको सहयोग मलाई मिलेका छ ।
पोखराको विन्ध्यवासिनी मन्दिर आजको अवस्थासम्म आइपुग्नुमा उहाँको योगदानलाई विर्सनु हुँदैन । पोखरा नगरपञ्चयातको प्रधानपञ्च हुँदा विन्ध्यवासिनी ५१ हजार रुपैया तत्कालिन नगरपञ्चायतबाट प्रदान गर्न भूमिका खेल्नुभयो । त्यो ‘सिड मनिले’ आजसम्म आइपुग्दा मन्दिरको विकासमा धेरै सहयोग पुग्यो । पोखराको विकासमा उहाँको प्रत्यक्ष अप्रत्यक्ष ठूलो योगदान छ । शैक्षिक, आर्थिक, सामाजिक, राजनैतिक धार्मिक हरेक क्षेत्रमा उहाँको योगदान छ । पोखरेलीले एउटा विकासका विविध पक्षमा चासो राख्ने र सफलतामा उन्मख बनाउन सक्ने क्षमतावान् व्यक्ति गुमायो । हामी निकट थियौ एकआपसमा सरसल्लाह छलफल भइरहन्थ्यौ । एक्कासी उहाँको मृत्युले मलाई स्तब्ध बनायो ।
रमेश पौडेल (नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष):
राजनीतिलाई धेरैले पेशा र व्यवसाय बनाए तर केसीले राजनीतिलाई सधै समाजसेवाको रुपमा लिए । यसबाट आर्थिक लाभ लिन खोजेनन् । आर्थिक समृद्धिका लागि उनले उद्यमशिलतामा जोड दिए । उनी एक सच्चा प्रजातन्त्रवादी मान्छे हुन् । तत्कालिन समया दरवारको विश्वास जित्न सफल रहेका उनी पछिल्लो समय शाहीकालमा ज्ञानेन्द्रलाई चुनौति दिन सक्ने निडर व्यक्तिका रुपमा प्रस्तुत भएका थिए । उनमा जनमत र जनचाहाना बुझ्ने सक्ने क्षमता थियो । २०४६ सालको जनआन्दोलमा उनी पञ्चायतको पदाधिकारी भएपनि बहुदलीय व्यवस्थाप्रति पूर्ण समर्थनमा रहे । आम जनताको मनोभावना बुझेर परिवर्तनका पक्षमा उभिएका थिए । रारा चाउचाउ लगायत विभिन्न प्रतिष्ठित कम्पनीको सफल नेतृत्व गरेका उनले व्यवसायसँगै राजनीतिक सामाजिक क्षेत्रमा आफूलाई उस्तै सफल बनाए । मिडिया मैत्री उनको स्वभाव थियो । उनले नेपाल पत्रकार महासंघ कास्कीमा “किर्तिस्मृती पत्रकारिता वृत्ति सम्मान” का लागि ११ लाख भन्दा बढी रुयौया अक्षयकोष स्थापना गरि मोफसलमा सर्वाधिक राशी पुरस्कार स्थापना गरेका छन् । प्रेस युनियनबाट सञ्चालित ५१ हजार पुरस्कार राशीको सुप्रेम शारदा पत्रकारिता पुरस्कार राशीका लागि उहाँले रु ६ लाख बढी रकमको अक्षयकोष स्थापना गनुभएको थियो ।

(स्वर्गिय सूर्यबहादुर के.सी.को निधन भएको आज १३ औं दिनको पुण्य तिथिमा उहाॅंको आत्माको चीर शान्तिको कामना गर्दै उहाॅंप्रति भावपूर्ण श्रद्दान्जली अर्पण गर्दछौं । यहि सन्दर्भमा उहाॅं निकटका केहि ब्यक्तित्वको सम्झना समेटेर यो फिचर तयार गरेका हौं । दु:खको यस घडिमा शोक सन्तप्त परिवारजन उहाॅंकि श्रीमती प्रेमकुमारी के.सी. र छोराहरु प्रकाश, किरण, रोशनसहित सम्पूर्ण परिवारमा हार्दिक समबेदना प्रकट गर्दछौं ।- सम्पादक)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।