देशकै ठूलो महानगर पोखरा महानगरका लागि स्वतन्त्रबाट उपमेयरका लागि उम्मेदवार दिएकी सोममाया बि.क. ले आफूलाई महानगरको जपक्षीय उम्मेदवार रहेको स्पष्ट पारेकी छन्।
एभरेस्ट आवाजसँग कुराकानी गर्दै बि.क.ले एमसीसी सम्झौता र राष्ट्रघातविरुद्ध आफ्नो उम्मेदवारी रहेको दाबी गरेकी छन्।
पुतली चिन्ह लिएर उम्मेदवारी दिएकी बि.क.ले आफूले जिते भ्रष्टाचारमुक्त पोखरा महानगर बनाउने प्रतिबद्धता जनाइन्।
भ्रष्टाचारमुक्त, प्रविधियुक्त र स्रोतसाधन सम्पन्न आधुनिक पोखरा महानगर बनाउन आफ्नो उम्मेदवारी रहेको उनले दाबी गरिन्।
‘सिंगो पोखरा महानगर कार्यालयमै भ्रष्टाचार छ। मातहतका प्रत्येक वडाहरु भ्रष्टाचारबाट मुक्त हुन सकेको छैन। महानगरवासी सेवाग्राहीले सहज र सुलभ ढंगले त्यहाँबाट सेवा लिन सकिरहेका छैनन्। शुशासन पनि छैन। प्रविधियुक्त महानगर र वडा कार्यालयहरु बन्न सकेका छैनन्। प्रमुख समस्याको पहिचानसहित साना भन्दा साना समस्यालाई हल गर्ने कुरामा ध्यान दिनेछु।’
शुशासनयुक्त महानगरका लागि आफ्नो उम्मेदवारी रहेको बि.क.को अर्को दाबी छ। शुशासनयुक्त आधुनिक महानगर बनाउन आफूलाई मत दिन महानगरवासीसमक्ष आग्रह गरिन्।
‘महानगरका कर्मचारीलाई दक्ष र सीपयुक्त बनाउनेतर्फ जोड दिनेछु। वडाहरुमा निकाशा हुने योजनासहितको बजेट वितरण न्यायपूर्ण छैन, कनिका छराई प्रवृत्ति छ। योजना हेरेर उपयुक्त बजेट वितरणलाई प्राथमिकता दिनेछु,’ उनले प्रतिबद्धता जनाइन्।
पोखरा महानगर पर्यटकीय हब भएरपनि यहाँ फोहर मैलाको व्यवस्थापन राम्रोसँग हुन नसकेको उनको धारणा छ। कृषि र पर्यटन प्रबद्र्धनसहितको पोखरा महानगर बनाउने उनको अर्को सपना हो।
यहाँका प्राकृतिक सम्पदाहरु तालतलैया, धार्मिक तथा पुरातात्विक महत्व बोकेको ऐतिहासिकस्थलको संरक्षण र सम्बद्र्धन गरी पोखरालाई पर्यटकहरुका लागि थप आकर्षण केन्द्र बनाउने उनी बताउँछिन्।
‘पोखरा पनि अन्तर्राष्ट्रियस्तरको सिटी बन्दैछ। आधुनिकस्तरको मोटर बाटोघाटो, सडकको बिकास र विस्तारमा ध्यान दिनेछु। चुस्त शान्ति सुरक्षा, टोल–टोल र चोक–चोकमा सीसी क्यामेरा जडानलाई पहिलो प्राथमिकता दिनेछु,’ बि.क.को प्रतिबद्धता छ।
फोहर मैलाको उचित व्यवस्थापनसहित महानगरलाई सफा, सुग्घर र हरियाली बनाउनेमा आफूले जोड दिने उनले सुनाइन्। पोखराकै केन्द्रभाग पृथ्वीचोकस्थित अव्यवस्थित बसपार्क र बसपार्कभित्र रहेको सुकुम्वासी वस्तीको व्यवस्थापन गर्ने उनले बताइन्।
‘पृथ्वीचोकको बसपार्कलाई प्रविधियुक्त बसपार्क निर्माण, बसपार्कभित्रका अव्यवस्थित बसोबासका सुकुम्वासीहरुलाई पुर्जासहित बैकल्पिक स्थानमा स्थानान्तरण गरिनुपर्छ,’ उनले भनिन्।
यहाँका टोलविकास संस्था लगायत जातीय र सार्वजनिक संघसंस्थालाई बनाई क्रियाशील बनाई उनीहरुकै सहभागितामा विकास निर्माणका कार्यलाई तिब्रता दिने बि.क.ले धारण राख्छिन्।
सम्बन्धित जातजाती, स्थानीयहरुको सहभागितामै यहाँको बहुसंस्कृतिलाई संरक्षण र प्रबद्र्धन गर्ने उनले प्रतिबद्धता जनाइन्।
पोखरा महानगर मेयर पदका लागि बि.क.को प्यानलबाट पुतली चिन्ह लिएर किसानसिंह गुरुङले समेत उम्मेदवारी दिएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







