पोखरा । पोखरा महानगरमा गठबन्धनबाट महानगरका मेयर धनराज आचार्यले गरिबीको रेखामुनी रहेकाहरुको परिचयपत्र बनाएर अवसर सिर्जना गर्ने बताएका छन् ।
सोमबार पोखरा १७ को चुनावी सभालाई सम्बोधन गर्दै उनले पोखरा महानगरभर अझै पनि ९ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेकोले उनीहरुलाई अवसरका बाटो खोजिदिने बताएका हुन् । उनले आफूहरुले जितेमा २ वर्षभित्र आधारभुत आवश्यकता पुरा गर्नका लागि रोजगारको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मेयरको कुर्चीमा बसेको ४५ दिनभित्र गरिबीको परिचयपत्र वितरण गरेर रोजगारीको व्यवस्था गरेर शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीको महसुलमा केही प्रतिशत छुट दिएर अघि बढ्ने उनको भनाई थियो । रोजगारीको अवसर भएरपनि आफूलाई पुग्नेगरी कमाउने अवस्था नभएपछि युवाहरु विदेशीन बाध्य भएकाले उनीहरुलाई स्वदेशमै ल्याउने योजना अघि सारिने उनले बताए ।
पोखरा १७ मा रहेको अन्तर्राष्ट्रिय संग्राहलयको प्रबद्र्धनमा जोड दिने उनले योजना सुनाए । महानगरका अधिकांश महानगरमा गठबन्धन भएपनि कतिपय वडामा मित्रवत प्रतिस्पष्र्धामा गएको बताउँदै मेयर र उपमेयर साझा रहेकाले गठबन्धनलाई जिताउन उनको आग्रह थियो । गठबन्धन राष्ट्रिय आवस्यकता रहेको प्रस्ट्याए ।
गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले गठबन्धनलाई नजिताए पोखरा पोखरा महानगरको विकास ५ वर्ष पछि पर्ने बताईन् । चुनावीसभामा बोल्दै गठबन्धनलाई नजिताए पाँच वर्ष एमालेले फेरी रजाई गर्ने र विकास नहुने जनाईन् ।
त्यसकारण पनि गठबन्धनलाई इमान्दार भएर जिताउन उनको अनुरोध थियो । चुनाव आउन ३ दिनमात्र रहेकाले २ दिन खटिनका लागि आग्रह गरिन् । ‘अबको ३ दिन तपाईँहरु खटिनुहोस हामी पाँच वर्ष खटिने छौ । अहिले महानगरको सबैभन्दा खतरा भनेको भ्रष्टचार हो ।
पोखरा महानगरपालिकालाई अब भ्रष्टचार मुक्त महानगर बनाउने छौँ’, उनले भनिन् । आफूहरुले जितेको खण्डमा पाँच वर्षसम्म महानगरको साझा जनप्रतिनिध भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल…






