तनहुँको निर्वाचनमा २ हजार ७ सय सुरक्षाकर्मी खटिदैँ


     एभरेस्ट आवाज    
     वैशाख २७ गते २०७९ मा प्रकाशित




यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन तनहुँमा करिब २ हजार ७ सय सुरक्षाकर्मी परिचालन हुने भएका छन्।

निर्वाचनका समयमा जिल्लामा नेपाली सेना ३६२, म्यादी प्रहरी १ हजार १८८, नेपाल प्रहरी ८ सय २० तथा सशस्त्र प्रहरी ३२६ गरी कूल २ हजार ६९६ जना परिचालन हुनेछन्। साथै, राष्ट्रिय अनुसन्धान विभागबाट १५ जना खटिने जिल्ला सुरक्षा समितिले जनाएको छ।

जिल्ला सुरक्षा समितिले जिल्लाको १० स्थानीय तहमा रहेका निर्वाचन केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी ३ भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाएको हो।

स्थानीय प्रशासनले जिल्लामा रहेका कूल १३६ मतदानस्थलमध्ये ५ लाई अतिसंवेदनशील, ३८ वटा संवेदनशील र ९३ वटालाई सामान्य समूहमा राखेर योजना बनाएको छ।

अति संवेदनशील मतदानस्थलमा अन्य ठाउँको भन्दा थप र ३ घेरामा सुरक्षाकर्मी परिचालन हुनेछन्। अति संवेदनशील मतदानस्थलमा पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली र बाहिरी घेरामा नेपाली सेना खटिनेछन्। साथमा राष्ट्रिय अनुसन्धान विभागबाट खटिनेछन।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।