रोल्पामा मतदाता पुरुषभन्दा महिला धेरै


     एभरेस्ट आवाज    
     वैशाख २८ गते २०७९ मा प्रकाशित




रोल्पा । रोल्पा जिल्लामा पछिल्ला दिनमा राजनीतिक दलको अस्वस्थ चुनावी प्रतिस्पर्धाका कारण सुरक्षा चुनौती भने थपिएकोे छ । रोल्पामा ७१ हजार ९३४ पुरुष र ७३ हजार ५१० महिला गरेर एक लाख ४५ हजार ४४४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी ध्रिताकुमारी खत्रीले जानकारी दिए ।

जिल्लामा पुरुष मतदाताभन्दा एक हजार ५७६ महिला मतदाता बढी छन् । जिल्लामा अधिकांश पुरुष वैदेशिक रोजगारीका क्रममा लामो समय देश बाहिर भएका कारण महिला मतदाताको सङ्ख्या बढी देखिएको बताइएको छ । मतदाता सूचीमा करिब एक हजार ५७६ बढी मात्र महिला मतदाता देखिए पनि मतदानमा यो सङ्ख्याको अन्तर अझै बढ्न सक्ने आकलन गरिएको छ ।

जिल्लामा चुनावी प्रचार–प्रसारमा समेत महिलाको सङ्ख्या बढी देखिएका कारण मतदानमा समेत यसको प्रभाव पर्न सक्ने बताइन्छ । रोल्पामा स्वतन्त्रसहित एक हजार १३० उम्मेदवार चुनावी मैदानमा छन् । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी गरेको जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज परिचालन गरिएका कारण सुरक्षामा कुनै समस्या नहुने सुरक्षा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । जिल्लामा ८१ मतदानस्थल र १७३ मतदान केन्द्र रहेका छन् । तीमध्ये २९ अतिसंवेदनशील, ४० संवेदनशील र १२ समान्य रहेको सापकोटाले बताए ।

रोल्पामा ४५० नेपाली सेना, ४९९ नेपाल प्रहरी, ३११ सशस्त्र प्रहरी र ८३३ म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए । उनले निर्वाचन सुरक्षाका लागि वैशाख २ देखि नै सुरक्षा निकाय परिचालन भएको बताए ।

जिल्लाका केही मतदान केन्द्रलाई मात्र संवेदनशील भनिएकामा पछिल्ला दिनमा राजनीतिक दलमा देखिएको अस्वस्थ चुनावी प्रतिस्पर्धाका कारण जिल्लाका सबै मतदान केन्द्र संवेदनशील रहेको बताइएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।