मदिरा सेवन गरेकालाई मतदान गर्न निषेध


     एभरेस्ट आवाज    
     वैशाख २९ गते २०७९ मा प्रकाशित




मादक पदार्थ खाएका व्यक्ति मतदाता नै भए पनि मतदान केन्द्रमा प्रवेश नदिइने भएको छ।

निर्वाचन आयोगले मतदाताले मादक पदार्थ सेवन गरेर भोट हाल्न गएकालाई मतदान केन्द्रमा प्रवेश नदिन मतदान अधिकृतलाई भनेको हो।

यस्तै, मतदाता वा कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर तथा एसिडजस्ता प्रज्ज्वलनशील पदार्थ लग्न पाइने छैन।

कुनै प्रकारको हातहतियार, नमुना मतपत्र लगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जानिने वस्तुपनि लग्न पाइने छैन। आयोगले मतदान केन्द्रमा निषेधित गतिविधि भए कारबाही गर्ने चेतावनी दिएको छ।

मतदानको दिन वैशाख ३० गते मतदान केन्द्र भित्र मतदाता, उम्मेदवार वा उम्मेदवारका एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमति पाएका पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति मतदान स्थलमा प्रवेश गर्न पाउनेछन्।

यस्तै, महिला मतदाताको साथमा ५ वर्षसम्मका बालक, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि आएका एका घरका परिवारलाई मात्र प्रवेश गर्न दिने आयोगले स्मरण गराएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।