अमेरिकी राष्ट्रपतिको गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेन एरिजोना राज्यमा पनि विजयी भएका छन्।
यो जितसँगै राष्ट्रपति–निर्वाचित भइसकेका बाइडेनको वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अन्तर अझ फराकिलो बनेको छ।
एरिजोनाका ११ इलेक्टोरल कलेज (निर्वाचन प्रतिनिधि) सहित बाइडेनले अब २ सय ९० इलेक्टोरल कलेज मत प्राप्त गरेका छन्।
अमेरिकामा कूल ५ सय ३७ मध्ये २ सय ७० इलेक्टोरल कलेज प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन्। एरिजोनामा बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा करिब ११ हजार बढी मत प्राप्त गरेको निर्वाचन अधिकारीहरुलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ । सन् १९९६ मा बिल क्लिन्टन विजयी भएपछि पहिलो पटक एरिजोना राज्यमा डेमोक्रेटिक उम्मेदवार विजयी भएका हुन्।
चार वर्षअघि डोनाल्ड ट्रम्पले त्यहाँ ३/५ प्रतिशत विन्दुले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए।
यसैबीच, बाइडेनले झिनो अग्रता बनाएर जितेको राज्यहरुमा पुनः मतगणना गर्न रिपब्लिकन पार्टीले देशव्यापी अभियान चलाएको छ । ट्रम्प अभियानले एरिजोना राज्यमा पनि मुद्दा दायर गरिसकेको छ। राज्यको सबैभन्दा ठूलो काउन्टी मारिकोपामा बाइडेनका समर्थकहरुले जबर्जस्ती मतदानका लागि मानिसलाई उक्साएको रिपब्लिकन समर्थकले आरोप लगाएका छन्।
हाल झिनो बहुमत प्राप्त गरी बाइडेन विजयी भइसकेका पेन्सिल्भेनिया र जोर्जिया राज्यमा हातले एकएक गरी पुनः मतगणना गर्न लागिएको छ। यी दुबै राज्यले मतगणनाको कार्य सम्पन्न नभएको जनाउँदै राष्ट्रपति–निर्वाचित बाइडेनलाई प्रमाणपत्र दिएका छैनन्।
मतगणनाको कार्य पूरा नभएको र कानूनी लडाइँ बाँकी रहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई समेत दिएका छैन भने ह्वाइट हाउसमा अन्तरिम पहुँच दिन अस्वीकार गरेका छन्।
राष्ट्रपति ट्रम्पले चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै हार स्वीकारेका छैनन्।
राष्ट्रपति ट्रम्पले यसबीचमा रक्षामन्त्री मार्क एस्परलाई बर्खास्त गर्नुका साथै विदेशमन्त्री माइक पोम्पेओलाई विदेश भ्रमणको स्वीकृति दिएका छन्।
एजेन्सी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






