पोखरा महानगरपालिका वडा नं २ लाई नमूना वडा बनाउने नव निर्वाचित वडाध्यक्ष दिवसमान प्रधानाङ्गले प्रतिबद्धता जनाएका छन्।
हालै सम्पन्न निर्वाचनबाट विजयी प्रधानाङ्गले एभरेस्ट एफएम ९३ मेघाहर्जको पेटबोली कार्यक्रममा बोल्दै महानगरको २ नं वडालाई सभ्य, सुसंस्कृत र नमूना वडा बनाउने बाचा गरेका हुन्।
पोखराको वडा नं २ भौगोलिक आकारमा सानो छ। यहाँ मतदाता संख्या पनि कम छ। तर, महानगरकै कोर सिटीको रुपमा चिनिने यो वडा महत्वपूर्ण वडा पनि हो। चाह्यो भने यस वडाका जनप्रतिनिधिलाई विकास निर्माणका काम गर्न सजिलै सक्नेछन्। र, वडावासीबाट सहयोग पनि मिल्नेछ।
आफू वडाध्यक्षमा निर्वाचित भएपछि पूर्वाधार निर्माणतर्फ बागलुङ बसपार्कलाई व्यवस्थित गर्ने उनको प्रमुख योजना छ।
पोखरा–बागलुङ हाइ–वेमा पर्ने उक्त बसपार्कलाई नेपालको प्रमुख सहरसँग जोड्न सकिने उनले योजना बनाएका छन्।
पोखराबाट लामो रुटका लागि छुट्ने बसपार्कका रुपमा विकास गर्न सकिने उनले बताए। त्यस्तै, कास्कीको ग्रामीण भेगका लागि छुट्ने बसपार्कका रुपमा यसलाई उपयोग गर्न सकिने उनले सुनाए। बसपार्कमा व्यवस्थित शौचालय निर्माण गर्ने उनको सोंच छ।
‘बागलुङ बसपार्क निर्माणका लागि वडावासीले जग्गा दिएका छन्। उद्देश्यअनुरुप पूर्वाधारयुक्त बसपार्क बन्न सकेन। बसपार्क अस्तव्यस्त छ, पुराना बसहरु थन्क्याउने बसपार्कका रुपमा विकास भएको देखिन्छ। त्यहाँ फोहर मैलाको व्यवस्थापन हुन सकेका छैन। सार्वजनिक शौचालय समेत छैन। बागलुङ बसपार्कलाई व्यवस्थित गर्नु पर्छ भन्ने मेरो पहिलो प्राथमिकतामा छ,’ उनले भने।
सुन्दर, स्वच्छ र हराभरासहितको व्यवस्थित र नमूना बागलुङ बसपार्क बनाउन सके स्थानीय व्यापार र व्यवसायको समेत प्रवद्र्धन हुने उनको विश्वास छ। यस बसपार्कभित्र यात्रु प्रतिक्षालय बनाउने उनको अर्को योजना छ। बसपार्कभित्रै ट्याक्सीको पार्किङ क्षेत्र बनाउने उनले बताए।
केही स्थानीय वडावासीका जग्गाहरु अधिग्रहण गरेर उपत्यका नगर विकास समितिको पहलमा बागलुङ बसपार्क बनेको हो। हाल यो बसपार्क उपत्यका नगर विकास समितिको स्वामित्वमा छ। अब, वडाको स्वामित्वमा ल्याउने पर्ने प्रधानाङ्गको धारणा छ। हाल, पोखरा महानगरका मेयर नै उपत्यका नगर विकास समितिका अध्यक्ष मानिन्छन्। अर्थात् महानगर मेयरको खटन–पटनमा चल्छ बागलुङ बसपार्क।
प्रधानाङ्ग भन्छन्, ‘पोखराको वडा नं २ मा रहेको बागलुङ बसपार्क वडाको स्वामित्वमा आउनुपर्छ। यो हाम्रो प्रमुख एजेण्डा हो। यसका लागि मैले आवश्यक पहल गर्दछु। यसका लागि सहयोग गर्न वडावासी र बागलुङ बसपार्कवासीसँग आग्रह गर्दछु।’
पोखरा–बागलुङ बसपार्क हाइ–वेमा दैनिक सवारी दुर्घटनाहरु हुने गर्दछ। पैदलयात्रुहरुले जेब्रा क्रसिङबाट बाटो काट्दा काट्दै सवारी दुर्घटनाहरु हुने गर्दछ। ट्राफिकहरु आउँछन, सिठ्ठी फुक्छन्, अलाप हुन्छन्। फेरी, सवारी दुर्घटनाहरु हुन्छन्।
हाई–वे अन्तर्गत विन्ध्यवासिनी मन्दिर चोकमा ट्राफिक कार्यलयको आवश्यकता छ। समग्र, हाई–वे वरपर ट्राफिक सचेतना कार्यक्रमको आवश्यकता छ। फिर्के खोलाको पुल साँघुरो छ, त्यसलाई फराकिलो पुल बनाउनुपर्ने छ। उक्त पुलमा हुने दुर्घटनालाई न्यूनिकरण गर्नुपर्ने हुन्छ।
यस वडाभित्र पोखराकै प्रमुख धार्मिक क्षेत्र विन्ध्यवासिनी शक्तिपीठको मन्दिर छ। विन्ध्यवासिनी मन्दिरको हालको अवस्था अस्तव्यस्त छ। मन्दिर वरपर कपडाहरु सुकाइएका हुन्छन्। मन्दिरका नाममा घरहरु मात्रै बनाइएका छन्। मन्दिर दर्शनका लागि आउने नयाँ धार्मिक पर्यटकका लागि मन्दिरको स्थान पत्ता लगाउनै धौ धौ पर्छ।
विन्ध्यवासिनी मन्दिरलाई आन्तरिक तथा वाह्य पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने प्रधानाङ्गले प्रमुख उद्देश्य राखेका छन्। दर्शनका लागि विन्ध्यवासिनी आउने भक्तजन तथा यात्रुहरुले टाढैबाट मन्दिरको तत्काल पहिचान गर्न सकोस भनेर मन्दिरलाई आकर्षक बनाउने प्रधानाङ्गको योजना छ।
उनले भने, ‘विन्ध्यवासिनीको नाममा धेरै जग्गा छन्। ति जग्गालाई विन्ध्यवासिनी मन्दिरको थप निर्माण र व्यवस्थित बनाउने कार्यमा खर्च गर्दा हुन्छ। वृहत् विन्ध्यवासिनी विकास कोषको स्थापना गर्न सकिन्छ। विन्ध्यवासिनी मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन आवश्यक बजेटका लागि महानगरदेखि, प्रदेश सरकार हुँदै केन्द्र सरकारसम्मको ढोका ढकढक्याउन म तयार छु।’
भैरवटोल, भीमसेन टोल, गणेश टोल, नालाको मुख र मोहरिया टोल लगायतका ऐतिहासिक, सांस्कृतिक र पूरातात्विक महत्व बोकेको टोलहरु छन्। जहाँ नेवारी समुदायको बाहुल्यता रहेको छ। पोखराका यि ठाउँहरुमा नेवारी संस्कृतिका गतिविधिहरु भइरहन्छ।
प्यागोडा शैलीमा बनेका भैरव मन्दिर, गणेश मन्दिर, भीमसेन मन्दिरको मर्मत संभार गरी संरक्षण र सम्बद्र्धनमा आफ्नो ध्यान गएको प्रधानाङ्गले बताए। यहाँ हुने नेवारी समुदायको भैरवनाच, गाइजात्रा, लाखे नाच, घोडानाच, तायमचा नाच, बालन नाचको संरक्षण र सम्बद्र्धनका लागि आफूले पहिलो प्राथमिकता दिएको उनको भनाई छ।
शान्ति सुरक्षाका लागि वडाभित्र वडा प्रहरी कार्यालय तथा सामुदायिक प्रहरी केन्द्र र वडाका टोलहरुमा वडा प्रहरी बीट स्थापना गर्ने आफ्नो सोंच रहेको उनले सुनाए।
पोखरा–२ मा वडाध्यक्ष पदमा प्रधानाङ्गसहित नेपाली काँग्रेसबाट पूरै उनका प्यानलले जितेको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





