सहारा क्लबद्वारा स्व.तामाङको प्रथम वार्षिक पूण्य तिथीमा वृद्धाहरुलाई भोजन


     एभरेस्ट आवाज    
     जेठ ४ गते २०७९ मा प्रकाशित




पोखरा । सहारा क्लव पोखराले स्वर्गिय बिल तामाङको प्रथम वार्षिक पूण्य तिथीमा बुधबार एक कार्यक्रमको आयोजना गरी उनी प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

क्लबले स्व. तामाङको पूण्य तिथीमा पोखरा १७ स्थित पोखरा वृद्धाश्रमका वृद्ध–वृद्धाहरुलाई भोजन तथा फलफुल प्रदान गर्नुका साथै एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली व्यक्त गरेको हो । तामाङको गत वर्ष कोभिड १९ का कारण उपचारका क्रममा ४४ वर्षको उमेरमा पोखरामा निधन भएको थियो ।

पूर्व राष्ट्रिय खेलाडी समेत रहेका तामाङ एफसी ‘ए लेभल’ लाइसेन्स प्राप्त फुटबल प्रशिक्षक समेत थिए । सहारा हङकङका संस्थापक महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष समेत रहेका स्व.तामाङ १९ औं संस्करणको आहा रारा फुटबल प्रतियोगिता र एफसी ए लेभल फुटबल प्रशिक्षकको लाइसेन्स प्राप्तीका लागि हङकङबाट पोखरा आएका थिए ।

पोखरा वृद्धाश्रममा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहारा क्लवका पूर्व अध्यक्ष विरभद्र आचार्यले सहारा क्लवले फुटबल विकासका लागि प्रतिवद्ध व्यक्तित्वको निधनले ठूलो क्षती पुगेको बताए ।

कार्यक्रममा पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीले स्व.तामाङको निधनले फुटबलका लागि अपुरणिय क्षती पुगेको बताउँदै उनी प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । सहारा क्लवका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’को अध्यक्षतामा भएको कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष केशव वहादुर थापा, वरिष्ठ उपाध्यक्ष केशवराज बराल, महासचिव रामजी प्रसाद अधिकारी, सह कोषाध्यक्ष बिनु राना, कार्यसमिती सदस्य रोजिना राना, अग्रज खेल पत्रकार सुदर्शन रञ्जित लगायतको सहभागिता रहेको थियो ।

यस अघि स्व. तामाङ प्रति मौन धारण गर्नुका साथै तस्विरमा माल्यापर्ण गरेका थिए । उक्त कार्यक्रम अग्रज खेल पत्रकार रञ्जितको पहलमा भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।