को हुन् पोखराको मेयरमा निर्वाचित धनराज ?


     एभरेस्ट आवाज    
     जेठ ११ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिकाको मेयरमा निर्वाचित धनराज कुनैबेला सकृय राजनीतिबाट टाढा थिए । सानै उमेरमा विद्यार्थी जीवनबाट राजनीति शुरु गरेका उनी मूलधारको राजनीति गर्ने बेला भने सकृय राजनीतिमा रहेनन् । नेपाली राजनीतिमा भएको गुटगत मनोवृत्ति, राम्रालाई होईन हाम्रालाई काखी च्याप्ने, सक्षम र ईमान्दारलाई पाखा लगाउने प्रवृत्तिबाट आजित भएर उनले सकृय राजनीतिबाट टाढा बस्न खोजे । यो समय बरु उनले सकृय राजनीतिमा रहेका आफ्ना सहपाठी रवीन्द्र अधिकारीलाई सहयोग गरिरहे ।

तर राजनीतिक जीवनको आरोह अवरोहपनि अनौठो हुँदो रहेछ । उनी जे चाहन्थेनन् अन्ततः आज उनको जीवनमा त्यहि भएको छ । पार्टीमा टुटफुट मन नपराउने उनी अन्ततः नेकपा एमाले फुटेपछि भने सकृय राजनीतिमा प्रवेश गरेका छन् । यो उनको सकृय राजनीतिको खुड्किलो अर्थात टर्निङ प्वाईन्ट बनेर आएको छ ।

सम्भवतः एमालेमै बसिरहेका भए धनराज आजपर्यन्त सामान्य कार्यकर्ता भएरै बसिरहेका हुन्थे । न उनलाई पार्टीले टिकट दिन्थ्यो न उनी पोखराको मेयर बन्थे । बरु उनले एमाले फुटेको समयलाई अवसरमा बदले । एमालेमा रहँदा पार्टीको कुनैपनि जिम्मेवारीमा नरहेका उनी एमाले फुटेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा पोखरा महानगर कमिर्टीको अध्यक्ष बने । उनलाई एमालैमा राख्न जिल्लादेखि प्रदेश र केन्द्रसम्मकै नेताहरु हात धोएर लागेकै थिए । तर उनी डगमगाएनन् । बरु एमालेको गढमा नेकपा एकीकृत समाजवादीको विजारोपण गर्न तल्लीन रहिरहे । उनको यहि स्वाभावका कारण पार्टी अध्यक्ष माधव नेपाल प्रभावित बने । फलस्वरुप देशैभरमा कमजोर संगठन रहेको कास्कीको पोखरा महानगरपालिकाको मेयर लिन माधव नेपालले अड्डी कसे ।

माधव नेपालको निरन्तरको अड्डीका कारण पोखराको मेयर नेकपा एकीकृत समाजवादीले पायो । जसमा पार्टीले धनराजलाई सिफारिस ग¥यो । आज त्यहि अवसरलाई धनराजले जितमा बदलेर ईतिहास कोरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।