लमजुङ । लमजुङका आठ स्थानीय तहको प्रमुख पदमा सबै पुरुष निर्वाचित भएका छन् भने महिलाको सँख्या शुन्य रहेको छ। चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख पदमा पुरुष निर्वाचित हुँदा महिला नेतृत्व शून्य भएको हो ।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा एउटा मात्र दूधपोखरी गाउँपालिकामा महिला प्रमुख निर्वाचित भएका थिए । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा बेँसीसहर नगरपालिकामा मङ्गोल अर्गनाइजेशन नेशनलले प्रमुख पदमा कुलुकुमारी गुरुङलाई उम्मेदावर बनाएको थियो ।
उनी निर्वाचनमा पराजित भए । नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायत ठूला दलले प्रमुख पदमा महिला उम्मेदावर नबनाउँदा महिला सहभागिता शून्य हुन पुगेको हो ।
जिल्ला सदरमुकामसमेत रहेको बेँसीसहर नगरपालिका उपप्रमुखमा एमालेबाट पदमा गुरुङ, सुन्दरबजार नगरपालिका उपप्रमुखमा भवानी केसी, मध्यनेपालमा सीता गुरुङ, क्व्होलासोगर गाउँपालिका उपाध्यक्षमा गमी गुरुङ र मस्र्याङ्दी गाउँपालिका उपाध्यक्षा जुनामाया थापा निर्वाचित भएका छन् ।
एमालेले आठवटै पालिकामा उपप्रमुख तथा उपाध्यक्षमा महिला उम्मेदावर बनाएको थियो । पहिलो स्थानीय तह निर्वाचनमा जिल्लामा एक पालिका प्रमुख र चार उपप्रमुखमा महिला निर्वाचित भएका थिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







