कृष्ण सेन ‘इच्छुक’ को २०औँ स्मृतिः चार पत्रकार सम्मानित


     एभरेस्ट आवाज    
     जेठ १३ गते २०७९ मा प्रकाशित




काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले जनपक्षीय पत्रकारिता, प्रगतिवादी सांस्कृतिक आन्दोलनमा कृष्ण सेनले निर्वाह गरेका भूमिका उच्च र अतुलनीय रहेको बताए ।

पत्रकार एवं साहित्यकार कृष्ण सेन ‘इच्छुक’ को २०औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले सेनको आदर्श, नैतिक बल र निष्ठाले जो कसैलाई पनि नतमस्तक बनाएको र उनको बलिदानीले पार्टी, क्रान्ति र समग्र आन्दोलनलाई अपुरणीय क्षति पु¥याएको बताएका हुन् ।

दिवसका अवसरमा प्रेस सेन्टर नेपालले चार पत्रकारलाई पुरस्कृत गरेको छ । ‘कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’बाट सङ्गठनका संस्थापक अध्यक्ष तथा इञ्चार्ज महेश्वर दाहाल र संस्थापक सदस्य तथा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष गोविन्द आचार्य पुरस्कृत गरेको हो ।

रु ५० हजार राशिको २०७८ सालको उक्त पुरस्कार आचार्यलाई र २०७९ सालको पुरस्कार दाहाललाई प्रदान गरिएको सेन्टरका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए । अघिल्लो वर्ष कोरोनाका कारण पुरस्कार प्रदान गरिएको थिएन ।

वरिष्ठ पत्रकार शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा स्थापना गरिएको शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कारबाट उक्त सेन्टरका संस्थापक सदस्य तथा पूर्वउपाध्यक्ष बलराम थापा र पूर्वउपाध्यक्ष लक्ष्मी पुनलाई पुरस्कृत गरिएको छ ।

थापालाई २०७८ सालको र पुनलाई २०७९ सालको पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ । प्रेस सेन्टरले नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीको संयोजकत्वमा गोविन्द देवकोटा र गङ्गा बराल सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरेको थियो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।