यस्तो छ, पोखरा–१५ को २ महत्वपूर्ण निर्णय

- वास्तविक लगत निकालेर अधिकरण गरिएका सार्वजनिक जग्गाको संरक्षण र शिशु स्याहार केन्द्रलाई आधारभूत विद्यालयको विकास


     एभरेस्ट आवाज    
     जेठ १४ गते २०७९ मा प्रकाशित




पोखरा–१५ का नवनिर्वाचित जनप्रतिनिधिहरुले २ महत्वपूर्ण निर्णय गरेका छन्।

नवनिर्वाचित जनप्रतिनिधिहरुले पदस्थापन गरेसँगै आगामी ५ वर्षमा वडाले प्राथमिकता साथ काम गर्ने योजनालाई अघि सारेका हुन्।

वडाले वास्तविक लगत निकालेर अधिकरण गरिएका सार्वजनिक जग्गाको संरक्षण र शिशु स्याहार केन्द्रलाई आधारभूत विद्यालयको रुपमा विकास गर्ने निर्णय गरेको हो।

नवनिर्वाचित वडाध्यक्ष तोरणबहादुर बानियाँले वडामा रहेका सार्वजनिक जग्गाहरुको वास्तविक लगत निकालेर अधिकरण भएका जग्गालाई संरक्षण गर्ने लक्ष रहेको बताए।

वडामा रहेका विभिन्न शिशु स्याहार केन्द्रलाई आवश्यकता हेरेर आधारभूत विद्यालयको रुपमा विकास गर्ने अर्को लक्ष रहेको बानियाले जनाए।

बानियाँले वडा नं. १५ लाई हाम्रो वडा, राम्रो वडा र सुव्यवस्थित नागरिक बसेको वडा बनाउन मन वचन र कर्मले लाग्ने बताए। यसका लागि वडावासीको साथ र सहयोगको खाँचो औँल्याए।

जनतासँग घरदैलोमा गरिएका प्रतिवद्धतालाई आवश्यकता र औचित्यका आधारमा एकपछि अर्को गर्दै पूरा गर्ने उनको प्रतिबद्धता छ। निर्वाचित भएपछि आफू शासक नभएर जनताको सेवक भएको उनले बताए। वडाको विकासका लागि यहाँका संपूर्ण राजनीतिक दलहरु, वुद्धिजीबी र समाजसेवीसँग राय सुझाव लिँदै अगाडि बढ्ने प्रतिबद्धता समेत जनाए।

गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा नं १५ बाट निर्वाचित नेकपा एमालेको तर्फबाट अध्यक्ष तोरणबहादुर बानियाँ, खुला सदस्यहरु आशिष भण्डारी, बलराम पौडेल, सेतीमाया गुरुङ र मन्दिरा परियारको पदस्थापना गरिएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।