आज जेठ १५ गते अर्थात १५ औं गणतन्त्र दिवस।
राज्यको संपूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको आजको दिन अर्थात् गणतन्त्र दिवस।
निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन। हजारौं सहिदको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो।
२०६२/२०६३ मा नेपालको जनआन्दोलन–२ नेपालमा भएको शान्तिपूर्ण आन्दोलन थियो। जुन १९ दिनसम्म चलेको थियो। यस आन्दोलनले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसालेको थियो। यस आन्दोलनमा विभिन्न राजनीतिक दल र शसस्त्र युद्ध गरिरहेको माओवादी समेत सम्मिलित भएको थियो।
८१८ कैदीको बाँकी सजाय मिनाहा
यस वर्षको गणतन्त्र दिवसको अवसरमा सरकारले ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा उनीहरूको कैद सजाय मिनाहा गरेकी हुन्। सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसहित २७१ जना र नरबहादुर साँवासमेतका ५४७ गरी कुल जम्मा ८१८ जना कैदीहरूको बाँकी कैद सजाय मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
‘संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९÷२÷१० को बैठकको सिफारिसमा मिति २०७९/२/१५ गते देखि लागु हुने गरी गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी मिनाहा भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
यसैगरी, उमाकान्त पराजुलीसहहित १६ जना कैदीलाई माफी दिइएको छ ।
‘संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/२/१३ को बैठकको सिफारिसमा उमाकान्त पराजुलीसमेतका १६ जना कैदीहरूको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी भएको छ,’ राष्ट्रपतिको कार्यालयले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







