उच्च स्थानमा धान रोपाइँ


     एभरेस्ट आवाज    
     जेठ १६ गते २०७९ मा प्रकाशित





खलङ्गा। जुम्लाको पातारासी गाउँपालिकास्थित भौगोलिक रुपले उच्च स्थानमा धान उत्पादन हुने छुमचौरमा कालीमार्सी धान रोपाइँ सुरु भएको छ । त्यहाँ सुधारिएको कालीमार्सी धान रोपिएको हो । दुई हजार आठ सय मिटर अग्लो स्थानमा रहेको सो स्थानमा आठ प्रकारका कालीमार्सी धान रोपिएको हो ।

कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धनकर्ता कलीमान महताराका अनुसार २०२१ सालदेखि सो स्थानमा धान रोपिएको हो । चन्दननाथ मन्दिरको शेरा जिउलाबाट धानको बेर्ना ल्याएर छुमचौर जिउलोमा रोपाइँ सुरु भएको हो । धानबालीमा परिश्रम धेरै गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिँचाइ सुविधा नभएको र धान रोपाइँ हुने मौसम र पाटनमा यार्सा सङ्कलनको मौसम एउटै पर्ने भएकाले विस्तारै रोपाइँ गर्न छोडिएको थियो । कालीमार्सी धानको महत्वका विषयमा बुझ्दै गएपछि अहिले २०० रोपनीजतिमा धान रोपेको कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धनकर्ता महताराले बताए। 

कृषि अनुसन्धान केन्द्रको आयोजना र कृषि विकास कार्यालय जुम्लाको समन्वयमा रोपाइँ गरिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख  गणेशबहादुर अधिकारीले बताए। गत वर्ष कारोनाका कारण धान रोपाइँ हुन सकेको थिएन । यसपटक धुमधामका साथ धान रोपिएको स्थानीयवासी बताउँछन् । पछिल्ल्लो समयमा स्वदेशमा मात्र राम्रो मूल्यमा जुम्लाको मार्सी चामल बजारमा बिक्री हुने गरेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।