बागलुङ । बागलुङ नगरपालिकाले जथाभावीरुपमा सडक खन्ने नीतिलाई सुधार गर्न प्राविधिक अध्ययन बिना नयाँ सडक खोल्न रोक लगाएको छ ।
नगरको दोस्रो बैठकले बागलुङ नगरभित्रका सबै टोल÷गाउँमा सडक पुगिसकेको जनाउँदै आगामी दिनमा सडक खन्न रोक लगाउने र भएका सडक स्तरोन्नतिमा जाने जनाएको छ । बागलुङ नगरले सडक खोल्न बन्द गर्ने तर अत्यावश्यक भएमा नगरको प्राविधिक टोलीको स्थलगत अध्ययनपछि मूल्याङ्कनका आधारमा मात्रै सडक खन्न दिइने निर्णय भएको नगरका प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए ।
उनका अनुसार बागलुङ नगरको दोस्रो कार्यपालिका बैठकबाट नयाँ सडक प्राविधिक अध्ययनपश्चात मात्रै खन्न पाइने, बागलुङ प्रवेशद्वारलाई व्यवस्थित बनाइने र जिल्लाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन पार्कीङस्थलको व्यवस्थापन गर्र्नेलगायतको निर्णय भएको छ ।
नगरभित्र पार्कीङको निकै समस्या भएका कारण सरकारी तथा निजी जग्गामा पार्कीङस्थल बनाउने, नयाँ सडक खन्न रोक लगाउँदै प्राविधिक अध्ययनपछि मात्रै सडक खन्न लगाउने र बागलुङ बजारको प्रवेशद्वारलाई सुन्दर बनाउने निर्णय गरिएको बागलुङ नगरपाकिलाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै ट्राफिक व्यवस्थापनका लागि बागलुङ बजारभित्रै सरकारी तथा निजी जग्गा खोज्ने कार्यपालिकाले निर्णय गरेको छ । साँधुरो बागलुङ बजारमा मोटरसाइकल तथा जीपको पार्किङ गर्न अत्यन्तै समस्या रहेका कारण भाडा तिरेर सवारीसाधन पार्कीङको व्यवस्था मिलाउने बागलुङ नगरपालिकाले जनाएको छ ।
यस्तै अव्यवस्थित रुपमा बागलुङ बजारको मालढुङ्गा प्रवेशद्वारमा रहेका होर्डिङ बोर्डलाई नगरले व्यवस्थित गर्ने जनाएको छ । नगरले बागलुङ प्रवेशद्वार मालढुङ्गास्थित पुलको रङ्गरोगन गर्ने, विद्युतीय बत्ती जडान गर्ने र होर्डिङ बोर्डलाई व्यबस्थित गराइ सुन्दर बनाउने भएको छ । होर्डिङ बोर्ड व्यवस्थापन गर्न अध्ययन समिति समेत गठन गरिएको छ । नगरले पहिलो कार्यपालिका बैठकमा बालमैत्री नगर घोषणा गर्ने निर्णय गरेको थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







